कालंगा हाइड्रोको आईपीओमा आवेदनको अन्तिम अवसर

काठमाडौं । कालंगा हाइड्रो लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्काशन गरेको साधारण शेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले चैत १० गतेदेखि बिक्री खुला गरेको उक्त आईपीओमा इच्छुक स्थानीयले आज चैत २४ गते बैंकिङ समयभित्र आवेदन दिइसक्नुपर्नेछ ।

कम्पनीले आफ्नो कुल जारी पूँजी १ अर्ब ४० करोड रुपैयाँको ३५ प्रतिशत अर्थात् ४९ करोड रुपैयाँ बराबरको ४९ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको छ । सोही अनुसार पहिलो चरणमा १४ करोड रुपैयाँ बराबरको १४ लाख कित्ता शेयर स्थानीयका लागि छुट्याइएको हो ।

प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्य रहेको यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।

निष्कासित कुल शेयरमध्ये ९ लाख १० हजार कित्ता अति प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्याइएको छ । यसअन्तर्गत बझाङको केदारस्यूँ गाउँपालिका वडा नम्बर ४ र ५, बित्थडचिर गाउँपालिका वडा नम्बर ६ र ८, बुंगल नगरपालिका वडा नम्बर ३, ४, ५, ६ र ८ का बासिन्दा समेटिएका छन् ।

यस्तै, बैतडीको डिलासैनी गाउँपालिका वडा नम्बर १ र २ तथा दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर १ का बासिन्दाले पनि अति प्रभावित क्षेत्रको कोटामा आवेदन दिन सक्नेछन् ।

बाँकी ४ लाख ९० हजार कित्ता शेयर भने प्रभावित जिल्लाका अन्य क्षेत्रका बासिन्दाका लागि सुरक्षित गरिएको छ । यस अन्तर्गत बझाङका केदारस्यूँ, बित्थडचिर र बुंगल, बैतडीको डिलासैनी तथा दार्चुलाको शैल्यशिखर नगरपालिकाका अति प्रभावित बाहेकका सबै वडाका स्थायी बासिन्दाले आवेदन दिन पाउने कम्पनीले जनाएको छ ।

कम्पनीले समयमै आवेदन दिई स्थानीय बासिन्दाहरूलाई यो अवसरको सदुपयोग गर्न आग्रह गरेको छ ।