तथ्याङ्क सहकार्यबाट अर्थतन्त्र बलियो बन्ने अपेक्षा

काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालय र नेपाल उद्योग परिसंघ (सिएनआई) बीच राष्ट्रिय अर्थतन्त्रसँग सम्बन्धित विश्वसनीय तथ्याङ्क सङ्कलन, विश्लेषण, अनुसन्धान तथा नीतिनिर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले समझदारी भएको छ ।

मुलुकको आर्थिक विकास, औद्योगिक विस्तार तथा प्रभावकारी नीतिनिर्माणका लागि गुणस्तरीय र समयानुकूल तथ्याङ्कको आवश्यकता बढ्दै गएकाले यस्तो सहकार्य अघि बढाइएको हो ।

समझदारीअनुसार तथ्याङ्क प्रणाली विकासका लागि राष्ट्रिय रणनीति कार्यान्वयन, निजी क्षेत्रसँग सम्बन्धित आर्थिक गतिविधिका तथ्याङ्क सङ्कलन, विश्लेषण तथा उपयोगलाई सुदृढ बनाउने र तथ्याङ्कीय गुणस्तर अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ । यसका लागि सरकारी निकाय र निजी क्षेत्रबीच सहकार्य तथा समन्वयलाई थप मजबुत बनाइने उल्लेख गरिएको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयमा आयोजित कार्यक्रममा कार्यालय प्रमुख डा. कमलप्रसाद पोख्रेल र परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेको उपस्थितिमा कार्यालयका निर्देशक डा. वेदप्रसाद ढकाल र परिसंघका महानिर्देशक डा. घनश्याम ओझाले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

कार्यक्रममा बोल्दै परिसंघका अध्यक्ष पाण्डेले यस सहकार्यले निजी क्षेत्रसँग सम्बन्धित आर्थिक तथ्याङ्क सङ्कलन, विश्लेषण र उपयोगलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । साथै, राष्ट्रिय आर्थिक गणना तथा अनुसन्धानका क्षेत्रमा समेत सहकार्य विस्तार हुने अपेक्षा गरिएको छ ।

यस समझदारीसँगै मुलुकको आर्थिक योजना, नीतिनिर्माण र अनुसन्धान कार्य थप तथ्यमा आधारित र प्रभावकारी बन्ने विश्वास गरिएको छ ।