अन्नपूर्ण क्षेत्रमा पर्यटकको उत्साहजनक वृद्धि

गण्डकी । दोस्रो मुख्य पर्यटकीय सिजन सुरु भएसँगै अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटकको आगमन उल्लेख्य रूपमा बढेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार गत मार्च महिनामा मात्रै ४८ हजार ५१३ जना विदेशी पर्यटकले विभिन्न गन्तव्यको भ्रमण गरेका छन् ।

तीमध्ये ३२ हजार २० जना दक्षिण एसियाली मुलुकका पर्यटक रहेका छन् भने अन्य देशका १६ हजार ४९३ पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका छन् ।

आयोजना प्रमुख डा. रविन कडरियाका अनुसार सन् २०२५ को मार्च महिनाको तुलनामा यस वर्ष ११ हजार ६७९ पर्यटक बढी आएका छन् । पछिल्लो समय यस क्षेत्रमा पर्यटक आगमन निरन्तर बढिरहेको उनले बताए ।

“नेपाल भित्रने विदेशी पर्यटकमध्ये करिब ४० प्रतिशत अन्नपूर्ण क्षेत्रमै पुग्ने गरेका छन्,” उनले भने, “दक्षिण एसियाली पर्यटकमध्ये भारतीयको संख्या उल्लेख्य रूपमा बढी छ ।”

करिब सात हजार ६०० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङ जिल्लाका १५ स्थानीय तहका ८७ वडा समेटिएका छन् ।

प्राकृतिक सौन्दर्य, हिमश्रृंखला र विविध सांस्कृतिक सम्पदाले भरिपूर्ण अन्नपूर्ण क्षेत्र पर्यटकका लागि प्रमुख आकर्षणको केन्द्र बन्दै गएको छ ।