झापा । पूर्वीनाका काँकडभिट्टामा यात्रुलाई जबर्जस्ती तानातान गर्दै दुःख दिने २४ जना बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोलीले सोमबार नाकास्थित बसपार्क, भन्सार क्षेत्र तथा बजार आसपासबाट ती बिचौलियालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार पक्राउ परेका सबै पुरुष रहेका छन् । उनीहरूले लामो तथा छोटो दूरीका सवारी साधनमा चढाइदिने, होटलमा बसोबासको व्यवस्था मिलाइदिने तथा अस्पतालमा उपचार गराइदिने भन्दै यात्रुलाई जबर्जस्ती तानातान गर्ने गरेका थिए ।
यात्रुहरूबाट लगातार गुनासो आएपछि प्रहरीले सोमबार बिहानैदेखि काँकडभिट्टा नाकाको बसपार्क, बजार र भन्सार क्षेत्रमा निगरानी बढाएको थियो । सोही क्रममा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले यस्ता गतिविधि नियन्त्रणका लागि आगामी दिनमा पनि निगरानीलाई निरन्तरता दिने जनाएको छ ।
