काठमाडौं । नेपाल सरकारले आन्तरिक ऋण उठाउने क्रममा १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार ‘विकास ऋणपत्र–२०८८’ जारी गरेर उक्त रकम जुटाइने भएको हो ।
सरकारले जारी गर्न लागेको यो ऋणपत्र ६ वर्षे अवधिको हुनेछ । ऋणपत्र बोलकबोल प्रक्रियामार्फत बिक्री गरिने व्यवस्था गरिएको छ । बोलकबोल आगामी चैत २५ गते हुने तय भएको छ भने चैत २६ गतेदेखि ऋणपत्र निष्कासन गरिनेछ ।
उक्त ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनीसँगै सर्वसाधारण नेपाली नागरिकले समेत सहभागी हुन सक्ने व्यवस्था गरिएको छ । सरकारले आन्तरिक स्रोत परिचालनमार्फत विकास तथा वित्तीय आवश्यकताका लागि रकम जुटाउने लक्ष्य लिएको छ ।
