बजार नियमनमा कडाइ, ब्रोकर कम्पनी निलम्बन

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ५५ नम्बरको धितोपत्र दलाल कम्पनी ‘भृकुटी स्टक ब्रोकिङ’ लाई निलम्बन गरेको छ । नियमविपरीत कारोबार, उधारो सेयर किनबेच र भुक्तानी प्रक्रियामा गम्भीर लापरबाही भएको आरोपमा बोर्डले उक्त निर्णय गरेको हो ।

बोर्डका सञ्चालक आनन्दराज शर्मा का अनुसार सोमबार बसेको बैठकले अर्को निर्णय नहुन्जेलसम्मका लागि कम्पनीलाई निलम्बन गर्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छानबिनपछि उक्त ब्रोकर कम्पनीमाथि थप शंका उब्जिएको थियो । विभागले गरेको अनुसन्धानमा विवादास्पद व्यवसायी दीपक भट्ट ले नेपाल पुनर्बीमा कम्पनी लगायतका सेयर खरिद गर्दा आफ्नै बैंक खाताको सट्टा विभिन्न व्यक्ति तथा शंकास्पद खाताबाट भुक्तानी गरेको पाइएको उल्लेख छ ।

बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई पठाइएको पत्रमा भृकुटी स्टक ब्रोकिङले नियमविपरीत उधारो कारोबार गराएको, अनिवार्य २५ प्रतिशत मार्जिन रकम नलिएको तथा तेस्रो पक्षको भुक्तानी स्वीकार गरेर सम्पत्ति शुद्धीकरण जोखिम बढाएको आरोप लगाइएको छ ।

भृकुटी स्टक ब्रोकिङ लाई अब अर्को आदेश नआएसम्म सेयर कारोबार गर्न रोक लगाइएको छ । साथै नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले थप नियमन प्रक्रिया अघि बढाउने तयारी गरेका छन् ।

काठमाडौँसहित देशका विभिन्न १० स्थानबाट सेवा दिँदै आएको उक्त कम्पनीको निलम्बनपछि ग्राहकहरूको सेयर कारोबार र राफसाफ प्रक्रिया कसरी अघि बढ्ने भन्ने विषयमा बोर्डले थप प्रष्ट पार्ने जनाएको छ ।