काठमाडौँ । हालै सम्पन्न निर्वाचनपछि गठन भएको नयाँ संसद र सरकारको सन्दर्भमा आर्थिक विकास, लगानीमैत्री वातावरण र रोजगारी सृजनालाई केन्द्रमा राख्दै निजी क्षेत्र र प्रतिनिधिसभाका सदस्यबीच ललितपुरमा नीति संवाद कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ को आसन्न निर्वाचनलाई लक्षित गरी आयोजित उक्त कार्यक्रममा निजी क्षेत्र र सांसदहरूले आर्थिक समृद्धि, नीतिगत स्थायित्व र लगानीमैत्री वातावरण निर्माणका लागि सहकार्य आवश्यक रहेकोमा जोड दिएका छन् ।
कार्यक्रममा सत्तारुढ गणेश पराजुली ले निजी क्षेत्रसँग सहकार्य गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै युवा पुस्ताको अपेक्षाअनुसार मुलुकलाई अघि बढाउन सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गरे ।
त्यस्तै नरेन्द्रराज केरुङ ले निजी क्षेत्रले अर्थतन्त्रमा पुर्याएको योगदान महत्वपूर्ण रहेको भन्दै यसको पूँजीलाई विकासमा उपयोग गर्न प्रोत्साहन आवश्यक रहेको बताए । उनले नीतिगत स्थायित्वमा सरकार र प्रतिपक्ष दुवै पक्षको सहयोग रहने विश्वास व्यक्त गरे ।
गुरु बराल ले उद्यमी–व्यवसायीका समस्या समाधानमा संसद तयार रहेको बताउँदै निजी क्षेत्रलाई त्रसित होइन, सहकार्यमुखी वातावरण दिनुपर्ने धारणा राखे ।
अन्जन श्रेष्ठ ले निजी क्षेत्र बोझिलो कर र नीतिगत अस्थिरताबाट प्रभावित भइरहेको भन्दै त्यसको समाधानका लागि संसदको भूमिका महत्वपूर्ण हुने अपेक्षा व्यक्त गरे । उनले सरकारसँग सहकार्य गर्दै देशलाई आर्थिक रूपमा सबल बनाउन निजी क्षेत्र तयार रहेको बताए ।
महासंघका कार्यकारिणी सदस्य शिवप्रसाद घिमिरे ले नयाँ सरकार र निजी क्षेत्र मिलेर आर्थिक रूपान्तरणको अवसर प्रयोग गर्नुपर्नेमा जोड दिए । उनले करको दरभन्दा दायरा विस्तार गर्नुपर्ने सुझाव समेत राखे ।
कार्यक्रममा सांसदहरू मनिष झा, विदूषी राना, नितिमा कार्की, शुलभ खरेल, सुनिल खड्का र प्रकाशचन्द्र परियार लगायतको सहभागिता रहेको थियो । साथै महासंघअन्तर्गतका ५० भन्दा बढी वस्तुगत संघका प्रतिनिधिहरूले आफ्ना धारणा प्रस्तुत गरेका थिए ।
महिला उद्यमी तथा नेपाल कृषि मेसिनरी संघ की उपाध्यक्ष सुनिता नेमाफुकी ले नीति संवाद कार्यक्रमले नीति निर्माण र निजी क्षेत्रबीचको सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरिन् ।
