नयाँ वर्षमा एनसेलको सस्तो अनलिमिटेड अफर

काठमाडौं । नयाँ वर्ष २०८३ को अवसर पारेर एनसेलले आफ्ना प्रिपेड ग्राहकका लागि आकर्षक अनलिमिटेड कम्बो प्याक सार्वजनिक गरेको छ । कम्पनीले कल र इन्टरनेट सेवाको शुल्क आक्रामक रूपमा घटाउँदै यो योजना ल्याएको हो ।

नयाँ कम्बो प्याकमा ग्राहकले २८ दिनसम्म कुनै पनि नेटवर्कमा अनलिमिटेड कल, अनलिमिटेड डेटा, दैनिक १०० एसएमएस तथा लायन्स गेट प्लेमा निःशुल्क पहुँच पाउनेछन् । यसले प्रयोगकर्तालाई निरन्तर कनेक्टिभिटी र मनोरञ्जनको सुविधा उपलब्ध गराउने कम्पनीको दाबी छ ।

यसअघि रु १९९९ पर्ने समान प्रकृतिको सेवाको तुलनामा नयाँ प्याकको मूल्य करसहित रु ६९९ मात्र राखिएको छ, जसले करिब ६५ प्रतिशतसम्म सस्तो भएको कम्पनीले जनाएको छ ।

ग्राहकले *१२३# डायल गरेर सजिलै यो प्याक सक्रिय गर्न सक्नेछन् । साथै एनसेल एप, नजिकैका एनसेल सेन्टर वा आधिकारिक पसलबाट पनि यो सेवा लिन सकिनेछ ।

एनसेलका चीफ कन्सुमर बिजनेस अफिसर उपाङ्ग दत्ताले कनेक्टिभिटीको बढ्दो आवश्यकता र दूरसञ्चार सेवाप्रतिको मागलाई ध्यानमा राख्दै यो योजना ल्याइएको बताए । उनका अनुसार यो प्याकले कम लागतमा उत्कृष्ट सेवा प्रदान गर्दै ग्राहकलाई ‘ननस्टप डिजिटल’ जीवनशैलीतर्फ अघि बढाउन सहयोग गर्नेछ ।

उनले डिजिटल माध्यममार्फत हुने कारोबार, किनमेल, वर्क फ्रम होम, अध्ययन, गेमिङ्ग तथा मनोरञ्जनका लागि डेटा सेवाको महत्व बढ्दै गएको उल्लेख गर्दै यो प्याकले त्यस्ता सबै आवश्यकतामा सहयोग गर्ने विश्वास व्यक्त गरे ।

यस प्याकअन्तर्गत ग्राहकले लायन्स गेट प्ले मार्फत हलिउडका चर्चित फिल्म, टेलिभिजन कार्यक्रम, ओरिजिनल कन्टेन्ट तथा वृत्तचित्रहरू समेत हेर्न सक्नेछन् । उक्त एप गुगल प्ले स्टोर, एप्पल एप स्टोर र एमेजोन फायर टिभी स्टिकमार्फत डाउनलोड गर्न सकिन्छ ।