काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आफ्नो तीन वर्षे कार्यकालमा अघि सारेका पाँचवटै मुख्य प्राथमिकतामा उल्लेखनीय उपलब्धि हासिल भएको बताएका छन्।
ललितपुरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले नेतृत्व सम्हाल्दा देशको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहे पनि हाल आर्थिक गतिविधि चलायमान बनाउन र लगानीमैत्री वातावरण निर्माण गर्न सफलता मिलेको उल्लेख गरे।
उनका अनुसार कोभिड–१९ को असर, अन्तर्राष्ट्रिय द्वन्द्व तथा नीतिगत अन्योलबीच निजी क्षेत्रको मनोबल जोगाउनु पहिलो प्राथमिकता थियो। नीतिगत सुधारका क्षेत्रमा महासंघले महत्वपूर्ण प्रगति गर्दै अब परम्परागत माग राख्ने भूमिकाबाट अघि बढेर नीति निर्माण प्रक्रियामा सक्रिय सहभागिता जनाउन थालेको उनले बताए।
उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन र ३० भन्दा बढी कानुन सुधारका लागि गरिएको सिफारिसले लगानी वातावरण सुधारमा ठोस आधार तयार पारेको उनको भनाइ छ।
राज्य र निजी क्षेत्रबीचको सम्बन्धमा आएको परिवर्तनबारे उनले विगतको टकराव अन्त्य भई सहकार्य र साझेदारीको नयाँ चरण सुरु भएको बताए। निजी क्षेत्रलाई अख्तियारको नियमनभित्र ल्याउने प्रस्ताव परिमार्जन गराउन सफल भएको र लामो समयदेखि विवादित ‘डेडिकेटेड’ तथा ‘ट्रङ्कलाइन’ महसुल समस्यामा मध्यस्थता गरिएको उनले जानकारी दिए।
आन्तरिक पुँजी परिचालनका लागि १० अर्ब रुपैयाँको ‘नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड’ स्थापना गरिएको र भारत, चीन, यूएई, कतार तथा बेलायतमा लगानी सम्मेलन आयोजना गरी प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने पहल गरिएको उनले स्पष्ट पारे।
संस्थागत सुधारतर्फ महासंघको विधान संशोधन गरी नेतृत्व चयन प्रक्रियालाई थप समावेशी र पारदर्शी बनाइएको उनले बताए। अध्यक्षको प्रत्यक्ष निर्वाचन र महिला सहभागिता वृद्धि जस्ता कदमले महासंघलाई प्रतिस्पर्धी बनाएको उनको दाबी छ। साथै, निजी क्षेत्रको योगदानबारे पहिलोपटक अनुसन्धान प्रतिवेदन प्रकाशित गरी तथ्यमा आधारित पैरवी गर्ने आधार तयार गरिएको उनले जानकारी दिए।
अध्यक्ष ढकालले आफ्नो कार्यकाललाई परिणाममुखी बनाउन सञ्चार क्षेत्रबाट प्राप्त रचनात्मक आलोचना र सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा सहकार्य अझ सुदृढ हुने विश्वास व्यक्त गरे।
