काठमाडौँ । समग्र सिमेन्ट उद्योगमा मन्दी देखिए पनि पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेडले भने उल्लेखनीय व्यापारिक प्रगति हासिल गरेको छ।
कम्पनीले चालू आर्थिक वर्ष २०२५/२६ को पहिलो ६ महिनामा १ अर्ब ८९ करोड रुपैयाँ बराबरको व्यापार गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब ४६ प्रतिशतले वृद्धि हो।
दीर्घकालीन तथ्याङ्क अनुसार कम्पनीले सन् २०२२ मा ३ अर्ब ८१ करोड ८० लाख, सन् २०२३ मा ४ अर्ब १२ करोड ९० लाख, सन् २०२४ मा ४ अर्ब २२ करोड ६० लाख र सन् २०२५ मा ४ अर्ब ११ करोड २० लाख रुपैयाँ बराबरको कारोबार गरेको देखिन्छ। पछिल्ला वर्षहरूमा सामान्य उतारचढाव देखिए पनि कम्पनीको समग्र उपस्थिति मजबुत बन्दै गएको छ।
व्यापार वृद्धिमा भारततर्फको निर्यातले महत्वपूर्ण योगदान दिएको छ। पछिल्ला तीन वर्षको तथ्यांक अनुसार कुल व्यापारमा निर्यातको हिस्सा औसत २३ प्रतिशत रहेको छ। चालू आर्थिक वर्षको पहिलो ६ महिनामा यो हिस्सा २४ प्रतिशत पुगेको छ, जुन कम्पनीका लागि सकारात्मक संकेत मानिएको छ।
नाफासम्बन्धी सूचकमा भने केही दबाब देखिएको छ। सञ्चालन नाफा र बिक्रीको अनुपात २४ प्रतिशतबाट घटेर २२ प्रतिशतमा झरेको छ। तर ऋण व्यवस्थापनमा सुधार देखिएको छ। कुल ऋण र खुद मूर्त पूँजीको अनुपात १.८ गुणाबाट घटेर १.७ गुणामा झरेको छ भने बाह्य दायित्व पनि २.० गुणाबाट १.९ गुणामा घटेको छ।
ऋण तिर्न सक्ने क्षमता सुधार हुँदै गएको छ। ऋण सेवा रक्षा अनुपात १.२ गुणाबाट बढेर १.४ गुणा पुगेको छ। यद्यपि, कुल ऋणको भार भने सञ्चालन नाफाको तुलनामा ६.४ गुणाबाट बढेर ७.७ गुणा पुगेको छ, जसले ऋणको दबाब अझै उच्च रहेको देखाउँछ।
कार्यशील पूँजी व्यवस्थापनमा केही चुनौती देखिए पनि चालू अनुपात २.३ गुणामा स्थिर रहनुले अल्पकालीन दायित्व पूरा गर्न कम्पनी सक्षम रहेको संकेत गरेको छ।
कम्पनीको कुल ७ अर्ब ५२ करोड ४३ लाख रुपैयाँ बराबरको ऋण सुविधामा इक्रा नेपालले दीर्घकालीन ऋणका लागि ‘एल डबल बी’ रेटिङ यथावत राखेको छ भने अल्पकालीन ऋणका लागि ‘ए फोर प्लस’ रेटिङमा स्तरवृद्धि गरेको छ।
निर्यात विस्तार कम्पनीका लागि बलियो पक्ष भए पनि सरकारी निर्यात सहुलियत हट्नु, भारतीय बजारमा मूल्य प्रतिस्पर्धा बढ्नु, कच्चा पदार्थको मूल्य उतारचढाव र आन्तरिक बजारमा तीव्र प्रतिस्पर्धा आगामी दिनका प्रमुख चुनौती हुने विश्लेषण गरिएको छ।
