काठमाडौँ । सरकारले सार्वजनिक यातायात तथा ढुवानी सेवाका साधनको भाडादर वृद्धि गर्ने निर्णय गरेको छ। यातायात व्यवस्था विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सैद्धान्तिक सहमतिपछि नयाँ भाडादर कार्यान्वयनको तयारी गरेको हो।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाका अनुसार सार्वजनिक यातायातको भाडा १६.७१ प्रतिशतले वृद्धि गरिएको छ।
त्यस्तै, मालवाहक सवारी साधनको भाडादरमा पनि वृद्धि गरिएको छ। पहाडी क्षेत्रमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २१.६८ प्रतिशतले र तराई क्षेत्रमा सञ्चालन हुने मालवाहक सवारीको भाडा १५.७५ प्रतिशतले बढाइएको छ।
यातायात व्यवस्था विभाग का अनुसार मन्त्रालयले भाडा समायोजनका लागि सैद्धान्तिक स्वीकृति दिइसकेको छ र केही समयभित्रै नयाँ भाडादरको विस्तृत विवरण आफ्नो आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गरिनेछ।
व्यवसायीहरूले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि तथा सञ्चालन लागत बढेकाले लामो समयदेखि भाडा समायोजनको माग गर्दै आएका थिए।
नयाँ भाडादर लागू भएपछि यातायात सेवा सञ्चालनमा थप सहजता आउने अपेक्षा गरिएको छ भने यात्रु तथा ढुवानी क्षेत्रको लागत संरचनामा पनि परिवर्तन देखिन सक्ने अनुमान गरिएको छ।
