काठमाडौँ । नेपाल तयारी पोसाक उद्योग संघका अध्यक्ष पशुपतिदेव पाण्डेले नेपाल कम विकसित मुलुक (एलडीसी) बाट स्तरोन्नति भएपछि तयारी पोसाक क्षेत्रले चुनौतीसँगै अवसर पनि सामना गर्नुपर्ने बताएका छन्।
नेपाल तयारी पोसाक उद्योग संघ द्वारा आयोजित ‘एलडीसी ग्रेजुएशनपछि तयारी पोसाकको निर्यात प्रवर्द्धन चुनौती र अवसर’ विषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष पाण्डेले यस्तो धारणा व्यक्त गरेका हुन्।
उनका अनुसार एलडीसीबाट स्तरोन्नतिपछि तयारी पोसाक उद्योगमा ठूलो प्रभाव पर्न सक्ने र करिब १ लाख ३२ हजार जनासम्मको रोजगारीमा असर पर्न सक्ने सम्भावना रहेको छ। उनले विशेषगरी कम आय भएका तथा सीमित शैक्षिक पहुँच भएका श्रमिकहरू बढी प्रभावित हुन सक्ने चेतावनी दिए।
अध्यक्ष पाण्डेले तयारी पोसाक क्षेत्रको दीर्घकालीन विकासका लागि सरकारसँग वर्षौँदेखि ‘ग्रीन गार्मेन्ट भिलेज’ र ‘टेक्सटाइल तथा तयारी पोसाक काउन्सिल’ गठनको माग गरिँदै आएको भए पनि अझै कार्यान्वयन हुन नसकेको गुनासो गरे।
उनका अनुसार देशभर रहेका करिब १ हजार २ सय ८५ रुग्ण गार्मेन्ट उद्योग पुनः सञ्चालन गर्न सकेमा तत्कालै ५० हजारभन्दा बढी रोजगारी सिर्जना गर्न सकिने सम्भावना रहेको छ।
समग्रमा, एलडीसी स्तरोन्नतिपछि आउन सक्ने चुनौतीलाई व्यवस्थापन गर्दै नीति सुधार र उद्योग पुनर्जीवनमार्फत तयारी पोसाक क्षेत्रलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता उद्योगीहरूले औँल्याएका छन्।
