हिन्द महासागर सम्मेलनका क्रममा मोरिसस पुगेका परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस। जयशंकरबीच आज शुक्रबार पोर्ट लुइसमा द्विपक्षीय भेटवार्ता भएको छ।
नवौँ हिन्द महासागर सम्मेलन (आईओसी)को साइडलाइनमा भएको यो भेटमा दुई देशबीचको साझेदारी र क्षेत्रीय सहकार्यका विविध आयामबारे छलफल भएको हो।
भेटपछि भारतीय विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जालमार्फत मन्त्री खनाललाई नियुक्तिमा बधाई दिँदै विभिन्न क्षेत्रमा प्रगाढ सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। ‘नेपालसँगको साझेदारीमा रहेका पूर्ण सम्भावनाहरूलाई साकार पार्न विभिन्न क्षेत्रमा थप गहिरो सहकार्य गर्नेबारे हामीले छलफल गर्यौँ,’ जयशंकरले सामाजिक सञ्जाल एक्समा जनाएका छन्।
हिजो बिहीबार मोरिससतर्फ प्रस्थान गरेका मन्त्री खनालले सम्मेलनमा ‘माउन्टेन–ओसियन कनेक्टिभिटी’ (हिमाल र महासागरको सम्बन्ध) को मुद्दालाई प्राथमिकताका साथ उठाउने तयारी गरेका छन्।
भूपरिवेष्ठित राष्ट्र भए पनि नेपालले आफ्नो वैदेशिक व्यापारका लागि समुद्री मार्गको अपरिहार्यता र हिन्द महासागरको स्वास्थ्यमा आफ्नो हिस्साबारे सम्मेलनमा राष्ट्रिय अडान राख्ने बताइएको छ।
