नेपाली राजनीतिको सबैभन्दा प्रभावशाली र दीर्घकालीन पात्रमध्येका एक शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवा अहिले गम्भीर कानूनी अनुसन्धानको घेरामा परेका छन्।
करिब ६ दशक लामो राजनीतिक यात्रा, पाँचपटक प्रधानमन्त्रीको नेतृत्व र सत्ताको निरन्तर पहुँचबीच उभिएको यो प्रकरणले नेपालमा सुशासन, पारदर्शिता र राजनीतिक उत्तरदायित्वबारे नयाँ बहस सुरु गराएको छ।
यो अनुसन्धानको सुरुवात कुनै औपचारिक उजुरीबाट नभइ सडक आन्दोलनबाट भएको थियो। गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनका क्रममा काठमाडौंको बुढानीलकण्ठस्थित देउवा निवासमा आगजनी हुँदा ठूलो परिमाणमा नगद जलेको दृश्य सार्वजनिक भयो।
त्यो दृश्यले देशव्यापी चासो र आशंका उत्पन्न गर्यो। यति ठूलो नगद निजी निवासमा कसरी राखिएको थियो, यसको स्रोत के हो र के त्यो वैध आम्दानीसँग सम्बन्धित थियो ?
देउवा पक्षले भने उक्त दृश्यलाई अस्वीकार गर्दै एआई प्रविधिबाट बनाइएको दाबी गरेको थियो। तर सार्वजनिक दबाब र प्रश्नहरूको तीव्रतासँगै राज्यका अनुसन्धान निकायहरू सक्रिय भए। प्रारम्भमा नगदको स्रोत खोज्न सुरु गरिएको अनुसन्धान क्रमशः विस्तार हुँदै देउवा परिवारसँग सम्बन्धित सम्पूर्ण चल, अचल सम्पत्तिको स्रोत पहिल्याउने दिशामा केन्द्रित भयो।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले संकलन गरेको प्रारम्भिक विवरणका आधारमा देउवा दम्पतीविरुद्ध कानूनी प्रक्रिया अघि बढाइएको हो। विभागले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ तथा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)निवारण ऐन, २०६४ अन्तर्गत अनुसन्धान गर्न आवश्यक रहेको उल्लेख गर्दै काठमाडौं जिल्ला अदालतसँग पक्राउ अनुमति मागेको थियो। अदालतले उक्त अनुरोध स्वीकृत गरेपछि देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो।
हाल देउवा दम्पती उपचारका लागि भनेर विदेशमा छन्। उनीहरू निर्वाचनअघि नै सिंगापुर गएको र त्यसपछि अन्य देशतर्फ गएको अनुमान छ। अनुसन्धान निकायले भने उनीहरूलाई नेपाल फर्काएर बयान लिने तयारी गरेको छ।
अनुसन्धानको अर्को महत्वपूर्ण पक्ष भनेको देउवा परिवारको सम्पत्ति विवरण हो। सार्वजनिक भएका तथ्यांकअनुसार देउवा परिवारका नाममा देशका विभिन्न जिल्लामा उल्लेख्य परिमाणमा जग्गा रहेको देखिन्छ। पत्नी आरजु राणा देउवाको नाममा डडेलधुरा, कैलाली, मकवानपुर र बर्दियामा गरी करिब २० हजार वर्गमिटरभन्दा बढी जग्गा रहेको छ। यी जग्गाहरू विभिन्न समयमा किनबेच र नामसारी हुँदै आएको देखिन्छ।
त्यस्तै उनका छोरा जयवीर सिंह देउवाको नाममा काठमाडौं, कास्की, कञ्चनपुर र बर्दियामा गरी करिब ३८ हजार वर्गमिटरभन्दा बढी जग्गा रहेको विवरण बाहिर आएको छ। जयवीरले चार वर्षमा नै करिब १ अर्ब रुपैयाँको ७३ रोपनी जग्गा किनेको विषय नेपालवाचले सार्वजनिक गरेको थियो। पछिल्ला केही वर्षमा मात्र उल्लेख्य परिमाणमा जग्गा नामसारी भएको तथ्यले अनुसन्धानलाई थप गहिराइ दिएको छ।
आरजु राणाको नाममा ७ कित्ता जग्गा रहेको छ, जसको कुल क्षेत्रफल २०,३४०,९४ वर्गमिटर (३९ रोपनी १५ आना ३ पैसा) छ। यी जग्गा डडेलधुरा, कैलाली, मकवानपुर र बर्दिया लगायतका जिल्लामा रहेको छ। उनको छोरा जयवीर सिंह देउवाको नाममा ३८,४४५.४२ वर्गमिटर ९७५ रोपनी ९ आना १ पैसा १ दाम० जग्गा रहेको छ। यी जग्गा काठमाडौं, कास्की, कञ्चनपुर र बर्दियाका विभिन्न स्थानमा रहेका छन्।
आम्दानीसँगको सम्बन्ध, कर भुक्तानीको अवस्था तथा विदेशी मुद्रा वा लगानीको सम्भावित संलग्नताबारे अहिले विस्तृत वित्तीय ट्र्याकिङ भइरहेको छ। अनुसन्धान निकायले बैंक खाता, लगानी र सम्पत्ति कारोबारका कागजातहरू अध्ययन गरिरहेको छ भने केही सम्पत्ति रोक्का गर्ने प्रक्रियासमेत अघि बढाइसकेको स्रोतको दावी छ।
यो प्रकरणले केवल कानूनी पक्षमात्र होइन राजनीतिक पक्षमा पनि ठूलो प्रभाव पारेको छ। शेरबहादुर देउवा नेपाली कांग्रेसभित्र लामो समयसम्म शक्तिकेन्द्रका रूपमा रहेका नेता हुन्। तर जेनजी आन्दोलनपछि बढेको दबाबका कारण उनले पार्टीको कार्यकारी भूमिकाबाट अस्थायी विश्राम लिएका थिए। पछि पुनः सक्रिय राजनीतिमा फर्किए पनि पार्टीभित्र नेतृत्व परिवर्तनको बहस तीव्र बनेको थियो। यही बीचमा आएको यो अनुसन्धानले उनको राजनीतिक भविष्य थप अनिश्चित मात्रै होइन अन्त्य निश्चित छ।
देउवाको राजनीतिक यात्रा आफैमा उतारचढावपूर्ण रहँदै आएको छ। विद्यार्थी राजनीतिबाट सुरु भएको उनको यात्रा कांग्रेसको शीर्ष नेतृत्व हुँदै पाँच पटक प्रधानमन्त्रीसम्म पुगेको हो। उनले देशका विभिन्न जटिल राजनीतिक मोडहरू संसद् विघटन, शाही हस्तक्षेप, जनआन्दोलन र गठबन्धन राजनीतिका कठिन चरणहरूमा नेतृत्व गरेका छन्। सत्ता जोगाउन गरिएका सम्झौता, जम्बो मन्त्रिमण्डल गठन र संसदीय अभ्यासमा देखिएका विकृतिका आरोपहरू पनि उनीमाथि लाग्दै आएका छन्।
शक्तिशाली नेताहरू पनि अनुसन्धानको दायराबाट बाहिर रहन सक्दैनन् भन्ने अहिलेको घटनाले देखाउँछ। यसले नेपालको राजनीतिक संस्कार, आर्थिक पारदर्शिता र सार्वजनिक उत्तरदायित्वबारे गम्भीर प्रश्न पनि उठाएको छ।
सरकारले सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका लागि पक्राउ पुर्जी जारी गरेपछि पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र उनकी पत्नी पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवाले कानुनी परामर्श थालेका छन्। देउवा दम्पती स्वास्थ्य उपचारका लागि विदेशमा छन्।
विदेशमा रहेकी आरजु ह्वाट्सएपमार्फत कानुन व्यवसायीसँग पक्राउ पुर्जीबारे परामर्श लिइरहेकी छन्।
