रामचन्द्र पौडेलले नेपाल चेम्बर अफ कमर्सको ७५औँ वार्षिक साधारण सभा (हीरक जयन्ती वर्ष) उद्घाटन गरेका छन्। उक्त अवसरमा आर्थिक तथा सामाजिक क्षेत्रमा योगदान पुर्याउने ९ जना तथा संस्थालाई विभिन्न विधामा सम्मान गरिएको छ।
चेम्बरका पूर्व अध्यक्षहरूको नाममा स्थापना गरिएका मेमोरियल अवार्डमार्फत व्यापार, उद्योग, कृषि, पर्यटन, सामाजिक सेवा तथा ट्रेड लजिस्टिक्स लगायत क्षेत्रमा योगदान गर्ने व्यक्तित्वहरूलाई राष्ट्रपतिबाट सम्मान प्रदान गरिएको हो।
ईश्वरलाल श्रेष्ठ लाइफटाइम अचिभमेन्ट अवार्डबाट सुजल फुड्स प्रालिका सह–संस्थापक गणेशबहादुर श्रेष्ठ सम्मानित भए भने पर्यटनतर्फ बनवारीलाल मित्तल मेमोरियल अवार्डबाट होटल शंकरका अध्यक्ष तथा प्रबन्ध निर्देशक विनोद शंकर श्रेष्ठ सम्मानित भएका छन्। व्यापारतर्फ जुद्धबहादुर श्रेष्ठ मेमोरियल अवार्ड नेपाल उल हाउसलाई प्रदान गरिएको छ।
कृषितर्फ राजबहादुर चिपालु मेमोरियल अवार्ड गणेश हेम्सका गणेश ऐडीलाई, ट्रेड लजिस्टिक्सतर्फ बिहारीलाल खेतान मेमोरियल अवार्ड एभरेष्ट डी कार्गो प्रालिका अध्यक्ष रबिन्द्रमान सिंह प्रधानलाई तथा उद्योगतर्फ इन्द्रभक्त मेमोरियल अवार्ड विशाल ग्रुपका उपाध्यक्ष त्रिलोकचन्द्र अग्रवाललाई प्रदान गरिएको छ। सामाजिक सेवातर्फ बालकृष्ण श्रेष्ठ मेमोरियल अवार्ड नेपाल क्यान्सर अस्पताललाई प्रदान गरिएको छ।
त्यस्तै, जनकदास श्रेष्ठ मेमोरियल अवार्ड एजु केसलाई प्रदान गरिएको छ भने प्रदेश, जिल्ला तथा नगर चेम्बरमध्ये उत्कृष्ट कार्य गरेबापत मोरङ चेम्बर अफ कमर्सलाई कदरपत्र प्रदान गरिएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले निजी क्षेत्रलाई केवल कर तिर्ने निकायका रूपमा नभई राष्ट्र निर्माणको अभिन्न साझेदार र आर्थिक इन्जिनु का रूपमा लिनुपर्ने धारणा व्यक्त गरे। उनले निजी क्षेत्र सबल भए मात्र अर्थतन्त्र सुदृढ हुने उल्लेख गर्दै सरकार–निजी क्षेत्र सहकार्य सुदृढ बनाउनुपर्नेमा जोड दिए।
उनले युवालाई उद्यमशीलता, प्रविधि र सृजनशीलतामार्फत आर्थिक गतिविधिमा जोड्नुपर्ने आवश्यकता औंल्याउँदै डिजिटल अर्थतन्त्र, हरित विकास र स्टार्टअप संस्कृतिको विकासमा जोड दिए।
कार्यक्रममा चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवालले स्वागत मन्तव्य दिँदै चेम्बर आन्दोलन वि।सं। २००७ सालदेखि सुरु भई देशव्यापी रूपमा विस्तार भएको बताए। उनका अनुसार हाल ७ प्रदेश, ६७ जिल्ला र ४६ नगरमा चेम्बर गठन भइसकेका छन् भने ८० भन्दा बढी अन्तर्राष्ट्रिय संस्थासँग सहकार्य भइरहेको छ।
अग्रवालले राजनीतिक अस्थिरता, नीतिगत अनिश्चितता तथा मौद्रिक र आर्थिक नीतिबीच समन्वय अभावका कारण निजी क्षेत्र प्रभावित भएको उल्लेख गरे। बैंकिङ प्रणालीमा लगानीयोग्य रकम हुँदाहुँदै पनि निजी क्षेत्र आकर्षित हुन सकेको छैन,उनले भने, अब ‘ब्रेन ड्रेन’ होइन, ‘ब्रेन गेन’को रणनीति आवश्यक छ।ु
त्यसैगरी, वरिष्ठ उपाध्यक्ष दीपक कुमार मल्होत्राले धन्यवाद मन्तव्य दिँदै वर्तमान विश्व प्रतिस्पर्धात्मक भएको उल्लेख गरे। उनले नवप्रवर्तन, डिजिटल रूपान्तरण र दिगो विकासतर्फ उन्मुख हुनुपर्नेमा जोड दिए।
कार्यक्रममा चेम्बरका सल्लाहकार परिषद् अध्यक्ष राजेशकाजी श्रेष्ठ, निवर्तमान अध्यक्ष राजेन्द्र मल्ल, नेपाल सरकारका उच्च पदस्थ अधिकारी, विदेशी राजदूत तथा निजी क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमले निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ गर्दै आत्मनिर्भर, समावेशी र दिगो अर्थतन्त्र निर्माणतर्फ अघि बढ्नुपर्नेमा जोड दिएको छ।
