काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ को चुनाव झण्डै एक महिना पछि सारिएको भोलिपल्टै महासंघको आधिकारिक वेबसाइटमा भने नयाँ कार्यसमिति अस्तित्वमा आइसकेको जनाउने गरी पदाधिकारीको सूची सार्वजनिक भएको पाइएको छ ।
वेबसाइटमा सार्वजनिक गरिएको सूची अनुसार नयाँ कार्यसमिति अञ्जन श्रेष्ठको नेतृत्वमा देखाइएको छ । उनी यसअघि नै भावी अध्यक्षका रूपमा सुनिश्चित भइसकेका कारण अध्यक्षमा देखाइनु अस्वाभाविक मानिएको छैन । तर, सो सूचीमा बरिष्ठ उपाध्यक्षका रूपमा हेमराज ढकालको नाम उल्लेख गरिएको विषयले थप चासो बढाएको छ । हालको कार्यकालमा भने अञ्जन श्रेष्ठ नै बरिष्ठ उपाध्यक्ष छन् ।
त्यस्तै, वेबसाइटमा वर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकाललाई ‘निवर्तमान अध्यक्ष’ का रूपमा उल्लेख गरिएको छ, जसले सूचीको समय र अवस्थाबारे थप प्रश्न उठाएको छ ।
उक्त सूचीमा उमेश डाल्मिया, कल्पना गैरे, कृष्णप्रसाद शर्मा, दिलसुन्दर श्रेष्ठ, सञ्जिव कोइराला, नरेशलाल प्रधान, ज्योत्सना श्रेष्ठ, प्रवलजंग पाण्डे र सुरकृष्ण वैद्यलाई उपाध्यक्षका रूपमा देखाइएको छ । यस्तै, भरतराज आचार्यलाई कोषाध्यक्षकै रूपमा निरन्तरता दिइएको देखिन्छ ।
समग्रमा हेर्दा यो सूची विभिन्न पदमा उम्मेदवारी दिएका व्यक्तिहरूको सम्भावित विवरण जस्तो देखिए पनि यसलाई आधिकारिक रूपमा प्रकाशित गरिँदा सर्वसाधारणमा भ्रम उत्पन्न हुन सक्ने देखिएको छ । विशेषगरी बरिष्ठ उपाध्यक्ष पदमा हेमराज ढकालको एकल नाम उल्लेख हुनु वर्तमान प्रतिस्पर्धाको सन्दर्भमा संवेदनशील विषय बनेको छ ।
महासंघको वेबसाइटमा यस्तो सूची सार्वजनिक हुनुको कारणबारे आधिकारिक धारणा भने सार्वजनिक भइसकेको छैन । यस विषयमा स्पष्टता आवश्यक देखिएको छ, ताकि व्यवसायी समुदाय र सर्वसाधारणमा अन्योलता नबढोस् ।
