हिमालयन पावरको हकप्रद खुला हुँदै

काठमाडाैं । हिमालयन पावर पार्टनर लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले आगामी वैशाख १७ गतेदेखि उक्त हकप्रद शेयर बिक्रीमा ल्याउने जनाएको छ।

कम्पनीले हाल कायम रहेको चुक्ता पूँजीको ५० प्रतिशत बराबर हकप्रद शेयर जारी गर्न लागेको हो। यसअनुसार विद्यमान शेयरधनीहरूले आफ्नो स्वामित्वमा रहेको १ कित्ता शेयर बराबर नयाँ ०.५ कित्ताका दरले आवेदन दिन सक्नेछन्।

हिमालयन पावरले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा कुल ५३ लाख २७ हजार ८५ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ। यसबाट कम्पनीले ५३ करोड २७ लाख ८ हजार ५०० रुपैयाँ बराबर रकम संकलन गर्ने लक्ष्य राखेको छ।

हकप्रद शेयरमा आवेदन दिन इच्छुक लगानीकर्ताहरूले आगामी जेठ ६ गतेसम्म आवेदन दिन सक्नेछन्। यस निष्काशनका लागि कम्पनीले गत चैत १० गतेलाई बुकक्लोज मिति तोकेको थियो।

यसअनुसार चैत ९ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका शेयरधनीहरू मात्र हकप्रद शेयरका लागि योग्य हुनेछन्। योग्य शेयरधनीहरूले तोकिएको अवधिभित्र आफ्नो हक अनुसार आवेदन दिन सक्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।