नयाँ वर्षमा टेलिकमको आकर्षक अफर

काठमाडौं । नेपाल टेलिकमले नयाँ वर्ष २०८३ को अवसर पारेर आफ्ना प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि विशेष ‘नयाँ वर्ष अफर २०८३’ सार्वजनिक गरेको छ। यसअन्तर्गत ग्राहकहरूले सस्तो दरमा उच्च डाटा सुविधा पाउने भएका छन्।

कम्पनीले ‘न्यु इयर लाइट’ र ‘न्यु इयर प्रिमियम’ गरी दुई प्रकारका प्याकेज उपलब्ध गराएको छ। ‘न्यु इयर लाइट’ प्याकेज अन्तर्गत ४९९ रुपैयाँमा प्रतिदिन ५ जीबी डाटा उपलब्ध हुनेछ। उक्त दैनिक सीमा पूरा भएपछि पनि बाँकी समय २ एमबीपीएस स्पिडमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ।

त्यसैगरी ‘न्यु इयर प्रिमियम’ प्याकेजमा ६९९ रुपैयाँमा प्रतिदिन १० जीबी डाटा पाइनेछ। दैनिक सीमा सकिएपछि पनि बाँकी अवधिभर ३ एमबीपीएस स्पिडमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ।

दुवै प्याकेजको मान्य अवधि ३० दिनको हुनेछ। यो अफर आज चैत ३० गतेदेखि आगामी वैशाख २ गतेसम्म खरिद गर्न सकिनेछ। पोस्टपेड प्रयोगकर्ताका लागि भने प्याकेजको शुल्क मासिक रेन्टल चार्जमै समावेश हुने व्यवस्था गरिएको छ।

ग्राहकहरूले यो अफर लिन मोबाइलबाट 141511# डायल गर्न सक्नेछन्। साथै नेपाल टेलिकम एपमार्फत पनि सजिलै प्याकेज खरिद गर्न सकिने कम्पनीले जनाएको छ।