काठमाडौँ । नेपालको खाद्य तेल उद्योगमा स्थापित श्रीकृष्ण ओयल रिफाइनरी एण्ड भेजिटेबल घी इन्डस्ट्रिज प्रालिले पछिल्लो समय आफ्नो व्यापारिक कारोबारमा उल्लेखनीय सुधार गरेको छ। इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालका अनुसार अघिल्ला वर्षहरूमा उतारचढाव भोगेको कम्पनीले आर्थिक वर्ष २०२५ मा आम्दानीमा ठूलो फड्को मारेको हो।
कम्पनीको आम्दानीमा निर्यात प्रमुख आधार बनेको छ। आर्थिक वर्ष २०२५ मा कुल सञ्चालन आम्दानीको ८७ प्रतिशत हिस्सा निर्यातबाट आएको थियो भने चालु आर्थिक वर्ष २०२६ को पहिलो ६ महिनामा पनि निर्यातको योगदान ८१ प्रतिशत रहेको छ।
भारततर्फको उच्च मागका कारण आर्थिक वर्ष २०२४ मा ७३ करोड रुपैयाँमा सीमित भएको आम्दानी आर्थिक वर्ष २०२५ मा करिब ४६१ प्रतिशतले बढेर ४ अर्ब १० करोड ८० लाख रुपैयाँ पुगेको छ। यसअघि कम्पनीले आर्थिक वर्ष २०२२ मा ३ अर्ब ६७ करोड, २०२३ मा १ अर्ब ५० करोड र २०२४ मा ७ करोड ३० लाख रुपैयाँ मात्र व्यापार गरेको थियो।
चालु आर्थिक वर्ष २०२६ को पहिलो ६ महिनामा मात्रै कम्पनीले २ अर्ब ४४ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार गरिसकेको छ।
कम्पनी कच्चा पदार्थका लागि सिंगापुर, स्विजरल्याण्ड, अष्ट्रेलिया, अर्जेन्टिना, इन्डोनेसिया, मलेसिया, युक्रेन र नेदरल्याण्ड जस्ता देशहरूमा निर्भर रहेको छ।
यद्यपि आम्दानीमा सुधार आए पनि कम्पनीको पूँजी संरचना भने जोखिमपूर्ण देखिएको छ। कार्यगत पूँजीका लागि अल्पकालीन ऋणमा निर्भर हुँदा ऋण र इक्विटीको अनुपात उच्च रहेको छ। आर्थिक वर्ष २०२५ मा ७.४२ गुणा रहेको गेयरिङ अनुपात सन् २०२६ को मध्य जनवरीसम्म बढेर ८.८६ गुणा पुगेको छ।
तर आम्दानी वृद्धिका कारण कम्पनीको ब्याज तिर्ने क्षमता भने केही सुदृढ भएको देखिन्छ। साथै कार्यगत पूँजी चक्रमा पनि सुधार आएको छ। आर्थिक वर्ष २०२४ मा ५८० दिन रहेको सञ्चालन चक्र २०२५ मा घटेर १७० दिनमा झरेको छ। विशेषगरी भण्डारण अवधि ५१५ दिनबाट घटेर १४६ दिनमा झर्नु र बक्यौता असुलीमा सुधार हुनु सकारात्मक पक्ष मानिएको छ।
तर कच्चा पदार्थको मूल्यमा हुने उतारचढाव र डलर विनिमय दरको जोखिमले कम्पनीको लागत व्यवस्थापनमा चुनौती कायम रहेको छ।
बाराको सिमरामा रहेको उद्योगको नेतृत्व तीन दशकभन्दा बढी अनुभव भएका मनोज कुमार अग्रवालले गरिरहेका छन्। यो कम्पनी एचपी अग्रवाल ग्रुप अन्तर्गत सञ्चालनमा रहेको छ, जुन समूह उत्पादन, व्यापार, पोलिमर र चिनी उद्योगमा सक्रिय छ।
कम्पनीको वित्तीय अवस्था मूल्याङ्कन गर्दै इन्फोमेरिक्स नेपालले पहिलो पटक साख रेटिङ प्रदान गरेको छ। कम्पनीको १ अर्ब १५ करोड १८ लाख रुपैयाँ दीर्घकालीन कर्जाका लागि ‘डबल बी माइनस’ र ३ अर्ब ६८ करोड रुपैयाँ अल्पकालीन कर्जाका लागि ‘ए फोर’ रेटिङ प्रदान गरिएको छ।
