काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबार सार्वजनिक गरेको विवरणअनुसार मन्त्री पोखरेलको कुल सम्पत्ति २४ करोड १६ लाख रुपैयाँ बराबर रहेको छ।
मन्त्री पोखरेलको सम्पत्तिको ठूलो हिस्सा घरजग्गा र सेयर लगानीमा केन्द्रित रहेको देखिएको छ। काठमाडौँमा ३ आना क्षेत्रफलमा बनेको अढाई तले घर, जसको मूल्य करिब ४ करोड रुपैयाँ रहेको छ। त्यस्तै मूलपानीमा ६ आना जग्गा रहेको छ, जसको मूल्य ५ करोड रुपैयाँ आँकलन गरिएको छ।
मोरङ जिल्लामा १ कठ्ठा जग्गा रहेको छ, जसको मूल्य करिब १ करोड रुपैयाँ रहेको छ। पारिवारिक नाममा रहेका जग्गामा गोदावरीमा ११ रोपनी ४ आना क्षेत्रफलको करिब ५ करोड रुपैयाँ मूल्य बराबरको जग्गा, गोकर्णेश्वरमा डेढ करोड रुपैयाँ मूल्यको जग्गा तथा गोदावरीमै अर्को डेढ करोड रुपैयाँ बराबरको जग्गा रहेका छन्।
सुनचाँदीतर्फ मन्त्री पोखरेलसँग ७५ लाख रुपैयाँ बराबरको गरगहना रहेको छ, जसमा २५ तोला सुन र १०० तोला चाँदी समावेश छन्। बैंक मौज्दाततर्फ सानिमा बैंकमा २ लाख ४८ हजार रुपैयाँ र एनआईसी एसिया बैंकमा करिब २ लाख रुपैयाँ रहेको उल्लेख गरिएको छ। साथै नगद रूपमा २५ हजार रुपैयाँ रहेको छ।
सेयर लगानीतर्फ विभिन्न कम्पनीहरूमा कुल १ करोड ७७ लाख रुपैयाँ बराबरको लगानी रहेको छ। सवारी साधनतर्फ मन्त्री पोखरेलको नाममा ३९ लाख ६५ हजार रुपैयाँ मूल्यको कार रहेको छ भने उनको बुवाको नाममा ७० लाख रुपैयाँ मूल्यको अर्को कार रहेको छ।
कुल २४ करोड १६ लाख रुपैयाँ बराबरको सम्पत्ति विवरण पेस गरेका मन्त्री पोखरेलले ७५ लाख रुपैयाँ ऋण रहेको पनि सार्वजनिक गरेका छन्।
