काठमाडौँ । एपोलो हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्राथमिक शेयर (आईपीओ) मा आवेदन दिने आज (चैत ३० गते) अन्तिम दिन रहेको छ। कम्पनीले चैत २६ गतेदेखि दोस्रो चरणअन्तर्गत सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो।
कम्पनीले सर्वसाधारणका लागि कुल ७ लाख ८० हजार २०० कित्ता शेयर निष्कासन गरेको हो। न्यूनतम १० कित्ता (१ हजार रुपैयाँ) देखि अधिकतम ९४ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
कुल ५७ करोड रुपैयाँ जारी पुँजीको ३० प्रतिशत अर्थात १४ लाख १० हजार कित्ता शेयर निष्कासन गर्ने अनुमति पाएको कम्पनीले यसअघि नै आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ५ लाख ६४ हजार कित्ता शेयर बाँडफाँड गरिसकेको छ। त्यस्तै सामूहिक लगानी कोषका लागि ४७ हजार कित्ता र कर्मचारीका लागि १८ हजार ८०० कित्ता छुट्याइएको छ।
यस आईपीओको बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ।
कम्पनीलाई केयर रेटिङ नेपालले “केयरएनपी डबल बी माइनस (BB-)” रेटिङ प्रदान गरेको छ, जसले वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरूको सी–आस्वा प्रणाली वा ‘मेरो शेयर’ एपमार्फत कार्यालय समयभित्र आवेदन दिन सक्नेछन्। माग अत्यधिक हुने अपेक्षा गरिएकाले आईपीओ गोलाप्रथामार्फत १० कित्ताका दरले बाँडफाँड हुने सम्भावना रहेको छ।
