काठमाडौँ । प्रभु बैंक लिमिटेडले ८.५० प्रतिशत लाभांश दर कायम रहने गरी ‘अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ (Irredeemable Non-Cumulative Preference Share) जारी गर्ने निर्णय गरेको छ। बैंकको चैत २७ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो।
बैंकले कुल ५ करोड इकाई अग्राधिकार शेयर जारी गर्नेछ, जसको प्रतिशेयर मूल्य १०० रुपैयाँ रहनेछ। यसअनुसार कुल ५ अर्ब रुपैयाँ बराबरको शेयर निष्कासन गरिनेछ।
यस शेयरमा वार्षिक ८.५० प्रतिशत लाभांश दर तोकिएको छ। बैंकले नाफा भएको वर्ष मात्र लाभांश वितरण गर्नेछ। यो ‘असञ्चिति’ प्रकृतिको भएकाले कुनै वर्ष नाफा नभएमा लाभांश नदिइएको वर्षको रकम पछि थपिने छैन।
बैंकले यो शेयर निजी प्लेसमेन्टमार्फत संस्थागत लगानीकर्तालाई मात्र बिक्री गर्ने जनाएको छ।
यस निर्णयलाई कार्यान्वयन गर्नका लागि विशेष साधारण सभाबाट स्वीकृति आवश्यक हुनेछ। त्यसपछि नेपाल राष्ट्र बैंकलगायत नियामक निकायको अन्तिम अनुमति प्राप्त भएपछि मात्र निष्कासन प्रक्रिया अघि बढ्ने बैंकले जनाएको छ।

