मन्त्रीहरूको सुन विवरण सार्वजनिक

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबार सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार मन्त्रीहरूमध्ये सुन तथा गरगहना स्वामित्वको विवरण सार्वजनिक भएको छ। विवरणमा उद्योगमन्त्री गौरीकुमारी यादव र गृहमन्त्री सुदन गुरुङ सबैभन्दा बढी सुन भएको सूचीमा देखिएका छन्।

बालेन शाह नेतृत्वको मन्त्रिमण्डलमा अधिकांश मन्त्रीहरूले आफ्नो सुनको स्रोत पैतृक सम्पत्ति, विवाह उपहार वा दाइजोका रूपमा उल्लेख गरेका छन्। सार्वजनिक विवरणअनुसार प्रधानमन्त्रीकी श्रीमतीको नाममा रहेको १९० तोला सुन सबैभन्दा बढी देखिएको छ। समग्र मन्त्रिमण्डलमा कुल ७८७ तोला सुन रहेको उल्लेख छ।

उद्योगमन्त्री गौरीकुमारी यादवसँग १८० तोला सुन, २ किलो चाँदी र २ सेट हीराका गरगहना रहेको छ। गृहमन्त्री सुदन गुरुङसँग ८९ तोला सुन र ६ किलो चाँदी रहेको विवरणमा उल्लेख छ। त्यसैगरी श्रम मन्त्री रामजी यादवसँग ८० तोला सुन र १५० तोला चाँदी रहेको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ४५ तोला सुन राखेको विवरण छ भने भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साल र स्वास्थ्य मन्त्री निशा मेहतासँग समान ३० तोला सुन रहेको देखिन्छ।

शिक्षा मन्त्री सस्मित पोखरेलसँग २५ तोला सुन र १०० तोला चाँदी रहेको छ भने संघीय मामिला मन्त्री प्रतिभा रावलसँग २५ तोला सुन रहेको विवरण छ। परराष्ट्रमन्त्री शिशिर खनालसँग २२ तोला सुन, महिला तथा बालबालिका मन्त्री सीता वादीसँग १८ तोला सुन रहेको छ।

ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठसँग १५ तोला सुन, कानुन मन्त्री सोविता गौतमसँग १५ तोला सुन तथा अन्य बहुमूल्य गरगहना रहेको विवरणमा उल्लेख छ। संस्कृति तथा पर्यटन मन्त्री खड्कराज पौडेलसँग ११ तोला सुन, सञ्चार मन्त्री विक्रम तिमिना र कृषि मन्त्री गीता चौधरीसँग क्रमशः ७ र ५ तोला सुन रहेको छ।

सम्पत्ति विवरण अनुसार अधिकांश मन्त्रीहरूको सुन तथा गरगहना पारिवारिक उपहार, पैतृक सम्पत्ति र विवाहमार्फत प्राप्त भएको उल्लेख गरिएको छ।