सम्पत्ति स्रोत खुलाउन साम्पाङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राई साम्पाङले सरकारमा रहेका पदाधिकारीहरूको सम्पत्ति विवरणसँगै त्यसको स्रोत पनि सार्वजनिक गर्न माग गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो माग राखेका हुन्।

साम्पाङले सरकारका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भए पनि त्यसको आर्जन प्रक्रिया स्पष्ट नभएको भन्दै पारदर्शिताको आवश्यकता औंल्याएका छन्। उनका अनुसार स्रोत नखुलेको सम्पत्ति घुमाइफिराइ भ्रष्टाचारको संकेत हुन सक्ने भएकाले स्पष्ट विवरण आवश्यक छ।

उनले फेसबुकमा लेखेका छन्, “सरकारमा रहेका सबैको सम्पत्ति यति उति भन्ने आयो, अब त्यसको स्रोत पनि खुलाइदिए राम्रो। स्रोतबिनाको सम्पत्ति त फेरि घुमाइफिराइ भ्रष्टाचार गरेको भन्ने नै बुझिन्छ। स्रोत प्रष्टाइदिनु पर्छ। जय देश।”

सरकारले प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेपछि यस विषयमा राजनीतिक वृत्तमा समर्थन र विरोध दुवै खालका प्रतिक्रिया देखिन थालेका छन्। विभिन्न पक्षले पारदर्शिता र जवाफदेहिताको बहसलाई थप चर्काएको जनाइएको छ।