काठमाडौँ । नेपालका वाणिज्य बैंकहरूको गैर–बैंकिङ सम्पत्ति (Non-Banking Assets) फागुन २०८१ को तुलनामा फागुन २०८२ सम्म २०.०७ प्रतिशतले वृद्धि भई ४३ अर्ब ४७ करोड ६४ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा यस्तो सम्पत्ति ३६ अर्ब २० करोड ८७ लाख रुपैयाँ रहेको थियो।
ऋणीहरूले कर्जा तथा ब्याज तिर्न नसकेपछि लिलाम प्रक्रियाबाट पनि बिक्री नभएका धितो बैंकले आफैँ सकार्नुपर्ने अवस्थालाई गैर–बैंकिङ सम्पत्ति भनिन्छ। यस्तो सम्पत्तिको वृद्धि बजारमा आर्थिक सुस्तता र खराब कर्जा व्यवस्थापनमा दबाब रहेको संकेतका रूपमा लिइन्छ।
तथ्याङ्कअनुसार परिमाणका आधारमा हिमालयन बैंकको गैर–बैंकिङ सम्पत्ति सबैभन्दा बढी ६०८.९७ करोड रुपैयाँ रहेको छ भने ग्लोबल आइएमई बैंक ५९७.९७ करोडसहित दोस्रो स्थानमा छ। प्राइम कमर्सियल बैंकको ४४०.७९ करोड, एनआईसी एशिया बैंकको ४१७.०७ करोड, र नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ३८७.९५ करोड रुपैयाँ गैर–बैंकिङ सम्पत्ति रहेको छ।
नेपाल एसबीआई बैंकको गैर–बैंकिङ सम्पत्ति १०३.२२ करोड पुगेको छ, जुन १९१.६५ प्रतिशतको उच्च वृद्धि हो। त्यस्तै स्ट्याण्डर्ड चार्टर्ड बैंकको गैर–बैंकिङ सम्पत्ति शून्य रहेको छ, जसले उसको कर्जा गुणस्तर बलियो रहेको संकेत गर्छ।
२० वटा बैंकमध्ये ७ वटा बैंकले भने आफ्नो गैर–बैंकिङ सम्पत्ति घटाउन सफल भएका छन्। माछापुच्छ्रे बैंकले सबैभन्दा बढी ३६.३३ प्रतिशतले यस्तो सम्पत्ति घटाएको छ। एभरेष्ट बैंक, नबिल बैंक, एनआईसी एशिया बैंक, कुमारी बैंक र राष्ट्रिय वाणिज्य बैंकको पनि गैर–बैंकिङ सम्पत्तिमा गिरावट आएको छ।
तर १३ वटा बैंकको यस्तो सम्पत्ति बढ्नु र केही ठूला बैंकहरूको ३०० करोडभन्दा माथि गैर–बैंकिङ सम्पत्ति रहनुले बैंकिङ प्रणालीमा नगद प्रवाह र कर्जा असुलीमा अझै चुनौती रहेको विश्लेषण गरिएको छ।
