बैंक ब्याजदरमा हल्का सहजता

काठमाडौँ । वाणिज्य बैंकहरूले आगामी वैशाख महिनाका लागि नयाँ निक्षेप ब्याजदर सार्वजनिक गरेका छन्। चैत महिनाको तुलनामा वैशाखमा औसत ब्याजदरमा सामान्य गिरावट आएको देखिएको छ। प्रणालीमा पर्याप्त तरलता र कर्जाको माग न्यून रहेकाले बैंकहरूले ब्याजदर घटाउने रणनीति अपनाएका हुन्।

औसत तथ्याङ्क अनुसार व्यक्तिगत निक्षेपको ब्याजदर चैतमा ४.४९ प्रतिशत रहेकोमा वैशाखमा घटेर ४.४० प्रतिशत कायम भएको छ। त्यस्तै संस्थागत निक्षेपको ब्याजदर चैतमा ३.२९ प्रतिशत रहेकोमा वैशाखमा घटेर ३.२३ प्रतिशतमा झरेको छ।

बैंकगत रूपमा हेर्दा हिमालयन बैंकले व्यक्तिगत निक्षेपमा ०.५० प्रतिशत र संस्थागत निक्षेपमा ०.२५ प्रतिशतले ब्याजदर घटाएको छ। सिटिजन्स बैंकले व्यक्तिगत निक्षेपमा ०.३५ प्रतिशत कटौती गरेको छ भने एभरेष्ट बैंक, एनआईसी एशिया बैंक र राष्ट्रिय वाणिज्य बैंकले पनि क्रमशः ०.२० देखि ०.२५ प्रतिशतसम्म कटौती गरेका छन्। नबिल बैंकले भने संस्थागत निक्षेपतर्फ ०.५४ प्रतिशतले ब्याजदर घटाएको छ।

यसैगरी केही बैंकहरूले ब्याजदर यथावत् राखेका छन्। ग्लोबल आइएमई बैंक, लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक, नेपाल बैंक, नेपाल इन्भेष्टमेण्ट मेगा बैंक, नेपाल एसबीआई बैंक, एनएमबि बैंक, प्रभु बैंक, प्राइम कमर्सियल बैंक र सानिमा बैंकले कुनै परिवर्तन नगरेको जनाइएको छ।

ब्याजदर स्थिरता र कटौती दुवै कारणले बैंकहरूको औसत लागत घट्ने अपेक्षा गरिएको छ। यसले आगामी दिनमा आधार दरमा कमी आउन सक्ने र ऋणीहरूका लागि कर्जाको ब्याजदर समेत केही सस्तो हुने संकेत देखिएको छ।