काठमाडौं । वन तथा वातावरणमन्त्री गीता चौधरीले नेपालमा पाइने जडिबुटीबाट औषधि उत्पादनको ठूलो सम्भावना रहेको बताएकी छन्। वनस्पति विभागको ६६औँ वार्षिकोत्सव तथा २७औँ वनस्पति दिवसको अवसरमा आइतबार आयोजित कार्यक्रममा उनले यस्तो धारणा राखेकी हुन्।
मन्त्री चौधरीले सम्भावना भए पनि जडिबुटी क्षेत्र अझै प्रारम्भिक चरणमै सीमित रहेको उल्लेख गर्दै यसलाई व्यावसायिक उत्पादनतर्फ लैजान आवश्यक रहेको बताइन्। उनले विभागलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुसन्धान संस्थासँग सहकार्य गरी कम्तीमा प्रि–क्लिनिकल ट्रायलसम्म पुग्ने वातावरण तयार गर्न निर्देशन दिइन्।
उनका अनुसार यस प्रकारका पहलले नेपाललाई औषधि उत्पादनको क्षेत्रमा नयाँ उचाइमा पुर्याउन मद्दत गर्नेछ। उनले विभागले विकास गरेका विभिन्न फर्मुलाहरूलाई सरकारी तथा निजी क्षेत्रसँग सहकार्य गरी व्यावसायिक उत्पादनमा लैजान सकिने बताइन्, जसले राजस्व वृद्धि, उद्योग स्थापना र रोजगारी सिर्जनामा टेवा पुर्याउनेछ।
मन्त्री चौधरीले अनुसन्धानमूलक उपलब्धिलाई व्यवहारमा उतार्न ढिलाइ गर्न नहुनेमा जोड दिँदै वैज्ञानिकहरूलाई प्रोत्साहन गर्ने व्यवस्था आवश्यक रहेको उल्लेख गरिन्। साथै, वनस्पति तथा जडिबुटी क्षेत्रलाई आर्थिक विकासको प्रमुख आधारका रूपमा विकास गर्नुपर्नेमा उनले जोड दिइन्।
उनले जडिबुटी क्षेत्रले ग्रामीण गरिबी न्यूनीकरण, रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा महत्वपूर्ण योगदान दिन सक्ने विश्वास व्यक्त गरिन्। सरकारले यस क्षेत्रको विकासका लागि आवश्यक नीति, ऐन तथा कानुनी सुधार गर्न प्रतिबद्ध रहेको पनि उनले बताइन्।
यसैबीच, वनस्पति विभागले नेपालका वनस्पतिको वैज्ञानिक अभिलेख तयार गर्दै ‘वृहत नेपाल फ्लोरा’ प्रकाशन गर्ने तयारी गरेको जनाएको छ। हालसम्म ६५८ प्रजातिका वनस्पतिको अभिलेखिकरण भइसकेको विभागले जानकारी दिएको छ।
कार्यक्रममा वनस्पतिक स्रोतको संरक्षण तथा विकासमा योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान पनि गरिएको थियो।
