एसईईको नतिजा भोलि सार्वजनिक हुँदै

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा भोलि मंगलबार सम्ममा सार्वजनिक गर्ने तयारी गरेको छ।

बोर्डका एक अधिकारीले दिएको जानकारी अनुसार भोलि अबेलासम्म नतिजा प्रकाशित गर्ने तयारी भइरहेको छ।

‘विभिन्न जिल्लाबाट प्राप्त प्राप्ताङ्क रुजु गरेर कम्प्युटरमा प्रविष्ट गर्ने काम हिजै सकिएको छ,’ उनले भने, ‘आज हामी प्राविधिकलाई त्यो प्राप्ताङ्क जिम्मा लगाउँछौँ। कुनै प्राविधिक त्रुटी देखिएन भने भोलि नतिजा आउँछ।’

विगतका वर्षमा परीक्षा सकिएको तीन महिनाभित्र एसईईको नतिजा प्रकाशन हुन्थ्यो। यस पटक भने बोर्डले पहिलोपटक एकमहिनाभित्रमै नतिजा सार्वजनिक गर्न लागेको हो।

बालेन शाह नेतृत्वको नयाँ सरकारले एसईईको नतिजा सुरुमा १५ दिनभित्रै सार्वजनिक गर्ने विषयमा पनि छलफल गरेको थियो। तर, हतार गर्दा समस्या आउन सक्ने देखिएकाले बढीमा एक महिनाभित्र नतिजा सार्वजनिक गर्न शिक्षा मन्त्रालय र बोर्डका अधिकारीबिच सहमति भएको हो।

नतिजा प्रकाशनलाई छरितो बनाउन यस पटक एसईईको उत्तरपुस्तिका परीक्षा केन्द्रमै परीक्षण गरिएको छ भने उत्तरपुस्तिका परीक्षण गर्न जनशक्ति पनि धेरै खटाइएको थियो।

यस वर्षको एसइई चैत १८ देखि २९ गतेसम्म सञ्चालन भएको थियो । परीक्षामा सहभागी हुन मुलुकभरबाट पाँच लाख १२ हजार ४२१ जनाले फाराम भरेका थिए।

तर, तीमध्ये कति जना परीक्षामा सहभागी भए भन्ने यकिन तथ्याङ्क नतिजा सार्वजनिक भएको दिन मात्रै थाहा हुने बोर्डले जनाएको छ। फाराम भरेकामध्ये दुई लाख ५७ हजार ६१३ जना छात्रा र दुई लाख ५४ हजार ८०१ जना छात्र छन्।

गत वर्ष चैत दोस्रो साता सकिएको एसईई परीक्षाको नतिजा असार १३ गते प्रकाशित भएको थियो।