प्रधानमन्त्री वालेन्द्र शाह-बालेनले सरकारले सुशासन र समावेशी आर्थिक समृद्धिका लागि स्पष्ट र निर्णायक जनादेश पाएको उल्लेख गर्दै नेपालको आर्थिक जीवनस्तर उकास्न विदेशी लगानी र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने बताएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार काठमाडौँ र युरोपेली संघ (इयू) राष्ट्रका राजदूतहरूसँगको संयुक्त भेटवार्तामा उनले आर्थिक एजेन्डालाई मुख्य प्राथमिकता दिँदै नीतिगत स्थिरताको प्रतिबद्धता जनाए।
सन्तुलित र व्यावहारिक विदेश नीतिमार्फत साझा आर्थिक समृद्धि हासिल गर्न नेपालले आफ्ना विकास साझेदारहरूसँगको सम्बन्धलाई थप मजबुत बनाउने प्रधानमन्त्री शाहको भनाइ छ।
प्रधानमन्त्री शाहले सरकार परिवर्तन भए पनि देशको आर्थिक तथा नीतिगत निर्देशन स्पष्ट, स्थिर र अनुमानयोग्य रहने स्पष्ट पारे। ‘नयाँ हुनुको अर्थ विगतबाट पूर्ण रूपमा अलग हुनु होइन,’ उनले भने, ‘बृहत् लगानी आकर्षित गर्न प्रक्रियाहरूलाई थप सहज बनाउँदै नवप्रवर्तनलाई प्रोत्साहन र दिगो विकास हासिल गर्न सरकार प्रतिबद्ध छ।’
नेपाली नागरिकको दैनिक जीवनस्तरमा वास्तविक परिवर्तन ल्याउन आर्थिक वृद्धि अपरिहार्य रहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले भने, ‘जनताका लागि नयाँ अवसरहरू सिर्जना गर्न सरकार विश्व बजारबाट लाभान्वित हुन चाहन्छ।’ उनले नेपालको विकास र समृद्धिका लागि व्यापार, लगानी, हरित ऊर्जा, जलवायु, पर्यटन तथा अन्य प्रमुख आर्थिक क्षेत्रहरूमा सहकार्यलाई अझ सुदृढ बनाउन नेपाल लागिपरेको बताए।
भेटवार्तामा उपस्थित युरोपियन युनियन तथा अन्य मुलुकका राजदूतहरूले नेपालमा सुशासन र आर्थिक विकासको एजेन्डासहित नयाँ सरकार गठन भएकोमा बधाई ज्ञापन गरेका थिए। सो अवसरमा राजदूतहरूले नेपालको आर्थिक वृद्धि र समृद्धिका लागि विभिन्न सम्भावित क्षेत्रहरूमा सहकार्य गर्न तथा लगानी बढाउन आफूहरू पूर्ण रूपमा तयार रहेको प्रतिबद्धता व्यक्त गरे।
