गृहमन्त्री सुधन गुरुङलाई मृतकको घरमा नआइदिन जनप्रतिनिधिहरूले अनुरोध गरेका छन्।
स्थिति सामान्य नभएकाले प्रमुख जिल्ला अधिकारीमार्फत् गृहमन्त्रीलाई नआइदिन अनुरोध गरेको औरही गाउँपालिका-२ का वडाध्यक्ष रामअयोधी यादवले जानकारी दिए।
‘गृहमन्त्रीलाई तत्काल मृतकको घरमा नआइदिन सीडीओलाई फोन गरेर अनुरोध गरेका छौँ,’ उनले भने, ‘उहाँ (गृहमन्त्री) यहाँ आउनुभयो भने अवस्था झन् खराब हुन्छ। ठूलो संख्यामा युवाहरू मृतकको घरमा गृहमन्त्रीलाई रोक्नका लागि जम्मा भएका छन्।’
वडाध्यक्ष यादवका अनुसार पीडितका माग पूरा गर्ने प्रतिबद्धता पहिले सीडीओमार्फत् पठाउनुपर्ने परिवारको माग छ।
गृहमन्त्री गुरुङ भने सुनसरीबाट सप्तरी हुँदै सिरहातर्फ लागेका छन्। सिरहाको गोलबजारमा बिहीबार दिउँसो गोली लागेर गणेश यादवको मृत्यु भएको थियो।
बिहीबार सुनसरी पुगेका गुरुङले शुक्रबार बिहान गोली लागेर मृत्यु भएका दुई युवाका आफन्तसँग भेट गरेर सहमति गरेका थिए। आफन्तले शव पनि बुझिसकेका छन्।
