बाढीका कारण प्रभावित जलविद्युत् आयोजनाका सुरुङमा फसेकाको खोज तथा उद्धारका लागि भारतबाट आएको ११ सदस्यीय विशेष प्राविधिक टोली परिचालन भएको छ।
चीनबाट पनि सुरुङ उद्धारमा विशेषज्ञता हासिल गरेको टोली नेपाल आउने तयारीमा रहेको परराष्ट्रमन्त्री शिशिर खनालले बताएका छन्।
मन्त्री खनालका अनुसार भारतबाट आएको प्राविधिक टोलीले उद्धार आवश्यक रहेका क्षेत्रको स्थलगत अवस्था अध्ययन गर्दै आवश्यक प्राविधिक सहयोग सुरु गरिसकेको छ। चीनबाट समेत सुरुङ उद्धारमा दक्ष टोली चाँडै नेपाल आउने अपेक्षा गरिएको उनले बताए।
सरकारले बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन अन्तर्राष्ट्रिय स्तरबाट आवश्यक प्राविधिक सहयोग जुटाइरहेको मन्त्री खनालले जानकारी दिए।
उनका अनुसार उद्धार गर्नुपर्ने क्षेत्रको भौगोलिक अवस्था अत्यन्त जटिल रहेकाले स्थलमार्गबाट उपलब्ध हुने प्राविधिक सहयोगलाई प्राथमिकता दिइएको छ।
हेलिकप्टरमार्फत उद्धार टोली तथा उपकरण लैजाँदा पनि कठिन भूगोलका कारण थप चुनौती उत्पन्न हुने अवस्था रहेको उनले बताए।
