काठमाडौं । नेपालमा महिला तथा युवा सशक्तीकरण, उद्यमशीलता प्रवर्द्धन र समावेशी आर्थिक विकासका क्षेत्रमा बेलायतसँगको सहकार्यलाई थप प्रभावकारी र परिणाममुखी बनाउने विषयमा छलफल भएको छ।
बेलायतको विदेश, राष्ट्रमण्डल तथा विकास कार्यालय (एफसीडीओ) का प्रतिनिधिसँग भएको भेटमा नेपालसहित दक्षिण एसियामा सञ्चालन भइरहेका कार्यक्रमलाई थप प्रभावकारी बनाउने तथा महिला र युवालाई रोजगारी, उद्यम र आर्थिक अवसरसँग जोड्ने विषयमा विस्तृत छलफल भएको हो।
छलफलका क्रममा महिला तथा युवाको सामाजिक र आर्थिक सशक्तीकरण, उद्यमशीलता विकास, सीप अभिवृद्धि, बजार पहुँच, नेतृत्व विकास र अन्तर्राष्ट्रिय व्यावसायिक सहकार्यका सम्भावनाबारे अनुभव तथा सुझाव आदानप्रदान गरिएको थियो।
भेटमा गत वर्ष एफसीडीओ तथा सम्बन्धित बेलायती कार्यक्रममार्फत बेलायतको म्यानचेस्टरमा आयोजना गरिएको अध्ययन तथा अनुभव आदानप्रदान भ्रमणको अनुभवसमेत साझा गरिएको थियो। उक्त कार्यक्रममा नेपालका महिला उद्यमीहरूको सहभागिता रहेको थियो।
नेपालका धेरै महिला उद्यमीमा गुणस्तरीय वस्तु उत्पादन गर्दै व्यवसाय विस्तार गर्ने क्षमता भए पनि अन्तर्राष्ट्रिय बजारमा पहुँच, निर्यात प्रक्रिया, आवश्यक मापदण्ड, कागजात व्यवस्थापन, व्यावसायिक सञ्जाल तथा बजारसँगको सम्बन्ध विस्तारका विषयमा व्यावहारिक ज्ञानको कमी रहेको नेपाल महिला उद्यमी महासंघकी निवर्तमान अध्यक्ष शोभा ज्ञवालीले बताइन्।
उनका अनुसार म्यानचेस्टरमा विभिन्न देशका ५० भन्दा बढी महिला उद्यमीसँग अनुभव आदानप्रदान तथा व्यावसायिक सम्बन्ध विस्तार गर्ने अवसरले सहभागी नेपाली महिला उद्यमीलाई आफ्ना उत्पादन तथा व्यवसायलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने सम्भावनाबारे थप बुझ्न सहयोग पुगेको थियो।
भेटमा यस्ता अध्ययन, अनुभव आदानप्रदान, मार्गदर्शन, सिकाइ तथा अन्तर्राष्ट्रिय व्यावसायिक सञ्जाल निर्माणका कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिइएको थियो। महिला उद्यमीलाई केवल तालिम दिएर मात्र नपुग्ने भन्दै उनीहरूलाई वास्तविक बजारसँग जोड्ने, अन्तर्राष्ट्रिय उद्यमीसँग अनुभव आदानप्रदान गराउने तथा निर्यातसम्बन्धी प्रक्रियाबारे व्यावहारिक ज्ञान उपलब्ध गराउनुपर्ने आवश्यकता औँल्याइएको थियो।
नेपालका महिला उद्यमी र बेलायतबीच प्रविधि, वित्तीय पहुँच, व्यावसायिक ज्ञान, उत्पादनको ब्रान्ड निर्माण, प्याकेजिङ, गुणस्तर प्रमाणीकरण, डिजिटल बजारीकरण, निर्यात प्रक्रिया तथा अन्तर्राष्ट्रिय खरिदकर्तासँग व्यावसायिक सम्बन्ध विस्तारका क्षेत्रमा सहकार्य गर्न सकिने विषयमा पनि छलफल भएको थियो।
सहकार्यलाई तालिम र अभिमुखीकरणमा मात्र सीमित नगरी उत्पादनदेखि बजार, बजारदेखि निर्यात र निर्यातदेखि व्यवसाय विस्तारसम्म पुग्ने गरी कार्यक्रम विकास गर्नुपर्ने धारणा पनि छलफलमा प्रस्तुत गरिएको थियो।
नेपालमा महिला उद्यमशीलता र समावेशी आर्थिक विकासका क्षेत्रमा बेलायतको अनुभव, ज्ञान र अन्तर्राष्ट्रिय सञ्जाललाई नेपाली महिला उद्यमी, निजी क्षेत्र, व्यावसायिक संघसंस्था तथा उद्योग–वाणिज्य क्षेत्रसँग जोड्न सके ठूलो संख्यामा महिला उद्यमी लाभान्वित हुन सक्ने बताइएको छ।
कार्यक्रमको प्रभावकारिता तालिम लिनेको संख्याबाट मात्र नभई त्यसबाट कति महिला उद्यमीले आफ्नो व्यवसाय विस्तार गरे, कति रोजगारी सिर्जना भयो, कति उत्पादन तथा सेवा निर्यात भयो र कति महिला आर्थिक रूपमा आत्मनिर्भर बने भन्ने आधारमा मूल्याङ्कन गर्नुपर्नेमा समेत जोड दिइएको ज्ञवालीले बताइन्।
एफसीडीओसँगको भेटले नेपाल र बेलायतबीच महिला तथा युवा सशक्तीकरण, उद्यमशीलता विकास र आर्थिक सहकार्यका क्षेत्रमा नयाँ सम्भावनाको ढोका खोल्ने अपेक्षा गरिएको छ। आगामी दिनमा छलफलबाट प्राप्त सुझावलाई निरन्तर मार्गदर्शन, अन्तर्राष्ट्रिय अनुभव आदानप्रदान, बजार पहुँच र निर्यात प्रवर्द्धनसँग जोडिएका व्यावहारिक कार्यक्रममार्फत कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिइएको छ।