विमान उडिरहेका बेला सहकर्मीबाटै चक्कु प्रहार हुँदा पनि फ्लाई दुबई दुर्घटना हुनबाट बचाएका पाइलट क्याप्टेन स्मित मच्छरसँग भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज शुक्रबार फोनमा कुरा गरेका छन्।
पाइलट स्मित भारतीय नागरिक हुन्। हाल उनी साउदीको एक अस्पतालमा उपचाररत छन्।
भारतबाट फोन गर्दै प्रधानमन्त्री मोदीले उनको साहस र सुझबुझको प्रशंसा गरेका हुन्।
प्रधानमन्त्री मोदीले भने, ‘देशभर तपाईंको दीर्घायु र शीघ्र स्वास्थ्यलाभका लागि प्रार्थना भइरहेको छ। गम्भीर घाइते भएर पनि यात्रुहरूको जीवन बचाउने तपाईंको निर्णयमा सिंगो राष्ट्र गर्व गर्छ।’
मोदीले थपे, ‘तपाईंको साहस, धैर्य र बुद्धिले धेरैको जीवन बचायो। तपाईंले देखाइदिनुभयो( भारतीयहरू ज्यान बचाउने मानिस हुन्, ज्यान लिने होइनन्।’
प्रधानमन्त्री मोदीले क्याप्टेन स्मितले गम्भीर घाइते भएर जीवन(मरणको संघर्षमा रहेका बेला पनि आफ्नो ज्यानको मतलब नगरी यात्रुको सुरक्षालाई प्राथमिकता दिएको उल्लेख गरे।
उनले भने, ‘यस्तो साहसी काम गरेर क्याप्टेन स्मितले १।४ अर्ब देशवासीकै इज्जत बढाएका छन्।’
क्याप्टेन स्मितले प्रधानमन्त्री मोदीसँग घटनाका क्रममा आफू लडेको र धेरै चोटपटक लागेको बताए। यसका बाबजुद उनले विमानभित्रको अवस्था बिग्रँदै गएको महसुस गरे।
स्मितले भने, ‘मलाई लाग्यो( यदि मैले उठेर कदम चालिनँ भने अवस्था झन् खराब हुनेछ। म १७ वर्षदेखि उडान गरिरहेको छु र पछिल्लो ११ वर्षदेखि क्याप्टेन छु। आँखा बन्द गर्दा पनि म विमानभित्र के भइरहेको छ भनेर देख्न सक्छु। जब म लडेँ, तब मलाई महसुस भइरहेको थियो( परिस्थिति झन् खराब हुँदै गइरहेको छ।’
क्याप्टेन स्मितका अनुसार अन्तिमसम्म प्रयास गरेर जब उनले ककपिटको ढोका खोले तब अरूले भित्र पस्न पाए। यस प्रयासमा अरूले पनि महत्त्वपूर्ण भूमिका खेलेको उनले बताए।
उनले भने, ‘म आफ्नो ज्यान बचाउन सक्दो प्रयास गरिरहेको थिएँ, तर योसँगै मलाई लाग्यो( ती मानिसहरूलाई पनि मर्न दिन हुँदैन।’
प्रधानमन्त्री मोदीसँग कुराकानीका क्रममा पाइलट स्मित निकै भावुक भए।
यस क्रममा उनले आफू पीडामा पर्दा जहिले हनुमान चालिसा पाठ गर्ने गरेको र त्यस दिन पनि भगवान्ले बचाएको बताए।
गत बुधबार १८० यात्रु लिएर यूएईको दुबईबाट इजरायलको तेल अभिभका लागि उडेको फ्लाई दुबईको विमानका को(पाइलटले पाइलट स्मित मच्छरलाई चक्कुले हानेपछि विमान साउदी अरबमा लगेर अवतरण गराइएको थियो।
यात्रुसमेतको सहयोगमा पाइलट स्मितले विमानलाई दुर्घटनाबाट बचाएका थिए। अहिले उनको विश्वभर प्रशंसा भइरहेको छ।
इजरायली अधिकारीहरूका अनुसार पाइलट स्मितलाई चक्कुले आक्रमण गर्ने को(पाइलट ओमानी नागरिक हुन्। उनलाई को(पाइलटले विमान उडिरहेकै बेला किन चक्कुले हाने भन्ने विषयमा वास्तविकता बाहिर आउन बाँकी नै छ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुका अनुसार ‘चक्कुले आक्रमण गर्ने पाइलटलाई पक्राउ गरिएको छ र हाल साउदी अधिकारीहरूले सोधपुछ गरिरहेका छन्।’
इजरायलका एक वरिष्ठ अधिकारीले पाइलटको साहसले ठुलो दुर्घटना हुनबाट जोगिएको बताए। अन्यथा सन् २००१ मा संयुक्त राज्य अमेरिकामा भएको ९र११ को आक्रमणजस्तै हुन सक्थ्यो।
फ्लाई दुबईमा सामेल हुनुभन्दा पहिले स्मितले स्पाइसजेटमा ११ वर्षभन्दा बढी समय काम गरेका थिए।
साउदी अरबस्थित भारतीय दूतावासका अनुसार फ्लाई दुबईका क्याप्टेन स्मित मच्छरलाई साउदीको ताबुकस्थित अस्पतालमा भर्ना गरिएको छ र उनको अवस्था स्थिर छ।
