नेपाली कांग्रेस नेपालको सबैभन्दा पुरानो दल त हो नै सँगै सबैभन्दा ठूलो लोकतान्त्रिक दल पनि हो । आफ्नो लोकतान्त्रिक चरित्रलाई निरन्तरता प्रदान गर्दै यस पार्टीले आफ्नो १५ औं महाधिवेशन आजदेखि आयोजन गरिरहेको छ ।
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ?
असोज १८ देखि २२, २०८३ अर्थात २०२६ को अक्टोबर ४ देखि ८, सम्म काठमाडौंको खुलामञ्चमा आयोजना हुने यो महाधिवेशन धेरै अर्थमा महत्वपूर्ण छ । करिव एक दशकपछि खुलामञ्चले यो महाधिवेशनमार्फत् राजनीतिक मञ्च बन्ने अवसर प्राप्त गर्न गइरहेको छ र विगतको इतिहास नवीकरण गर्ने एक सुनौलोअवसर पनि प्राप्त गरेको ।
नेपालको राजनीतिक इतिहासको प्रत्यक्ष साक्षी बनेको खुलामञ्चबाटै नेपाली कांगेसले नयाँ राजनीतिक दृष्टिकोणको उद्घोष गर्ने अपेक्षा राखिएको छ ।
निरन्तर एकताको प्रयास
गगन थापा नेतृत्वको कांग्रेसको संस्थापन पक्षको यो महाधिवेशन एकताको महाधिवेशन हुने अपेक्षा गरिएको थियो । पूर्व सभापति शेरवहादुर देउवा नेतृत्वको इतर पक्षका कांग्रेसजन पनि यो अधिवेशनमा सहभागी हुने अपेक्षा गरिएको थियो, तर यो सामग्री तयार पारुञ्जेलसम्म त्यो अवस्था देखिएको छैन र तत्कालै त्यो सम्भावनको संकेत पनि दृष्टिगोचर हुँदैन ।
यद्यपि संस्थापन पक्ष देउवालाई प्रमुख अतिथि नै बनाएर भए पनि एकताको सन्देश प्रवाहित गर्न चाहेको छ, तर यो सामग्री तयार पार्दासम्म इतर पक्षबाट कुनै सकारात्मक जवाफ आएको छैन ।
केन्द्रीय सदस्य उज्जवलप्रसाद बरालले आफूहरुले यो महाधिवेशनलाई एकताको महाधिवेशन बनाउन चाहेको र त्यसका लागि नेतृत्वले हदैसम्मको त्याग गर्दा पनि अहिलेसम्म सम्भव नदेखिएको बताए ।
संस्थापनकै शैलीमा इतर पक्ष पनि महाधिवेशनको आयोजन गर्ने तयारीमा छ । इतर पक्षले पनि स्थानीय स्तरमा समानान्तररुपमा अधिवेशनहरु सम्पन्न गरिरहेको छ ।
जे होस, एउटा कुरा के सत्य हो भने यो महधिवेशन एकताको महाधिवेशन हुन सकेन । अर्का एक केन्द्रीय सदस्यको भनाई छ–तर हामीले आश मारेका छैनौं ।
हाम्रा प्रयासका आधारमा अन्तिम समयसम्म पनि उपलब्धि प्राप्त हुन सक्ने हाम्रो विश्वास छ । उनले भने– इतर पक्षले जे सुकै भनेपनि सत्य के हो भने कांग्रेसको धेरै ठूलो हिस्सा यतैतिरै छ । सानो हिस्साले आफूलाई अलग राख्ने प्रयत्न गरेको छ ।
केन्द्रीय सदस्य वरालका अनुसार आसन्न महाधिवेशनमा इतिहासकै सर्वाधिक संख्यामा प्रतिनिधि सहभागी भइरहेबाट पनि यो महाधिवेशनको सफलताको आँकलन गर्न सकिन्छ ।
पार्टीका प्रवक्ता देवराज चालिसेका अनुसार यो महधिवेशनमा सात हजार पाँच सयभन्दा बढी प्रतिनिधि सहभागी भइरहेका छन ।
यो महाधिवेशन विशेष महाधिवेशनपछिको पहिलो नियमित महाधिवेशन भएकाले यसलाई पार्टीको आन्तरिक पुनर्गठन, नीतिगत स्पष्टता र भावी राजनीतिक दिशा तय गर्ने निर्णायक मञ्चका रूपमा हेरिएको छ ।
बीपी कोइरालाको ‘लोकतान्त्रिक समाजवाद’को जगमा स्थापना भएको पार्टीले परिवर्तनशील राजनीतिक र सामाजिक परिदृश्यमा आफूलाई कसरी ढाल्छ भन्ने प्रश्नको जवाफ यसै महाधिवेशनले दिने अपेक्षा गरिएको छ ।
ऐतिहासिक पृष्ठभूमि र विशेष महाधिवेशनको सन्दर्भ
वि.सं. २००३ मा भारतको कोलकाताबाट सुरु भएको नेपाली कांग्रेसको महाधिवेशन यात्रा आठ दशक लामो राजनीतिक संघर्ष र आन्दोलनको साक्षी बनेको छ । हालसम्मका महाधिवेशनसम्म आइपुग्दा कांग्रेसले पटक–पटक अनेक राजनीतिक मोडमा अनेक समस्याको सामना गरेको छ । पार्टीको इतिहासमा दूई पटक विशेष महाधिवेशनको आयोजन हुनुलाई यस्तै एक उदारहण मान्न सकिन्छ ।
हालै सम्पन्न दोस्रो विशेष महाधिवेशनले पार्टीभित्र नेतृत्व पुनर्गठन र विचार मन्थनको जग बसालेको संस्थापन पक्षले तर्क प्रस्तुत गर्ने गरे पनि इतर पक्षले भने यो यथार्थलाई स्वीकार गर्ने गरेको छैन । उक्त विशेष महाधिवेशनपछि आयोजना भइरहेको यो १५ औं महाधिवेशनले विशेष महाधिवेशनका निष्कर्षहरूलाई संस्थागत गर्दै विधानसम्मत र जनमुखी ढङ्गले नयाँ केन्द्रीय कार्यसमिति चयन गर्ने जिम्मेवारी पाएको छ ।
१५ औं महाधिवेशनको तयारी र व्यवस्थापन
पार्टीले १५ औं महाधिवेशनलाई भव्य र वातावरणमैत्री बनाउन व्यापक तयारी गरेको छः। काठमाडौंको ऐतिहासिक खुलामञ्चमा १८ गते उद्घाटन गरेर असोज १९ र २० गते सोही स्थानमा बन्दसत्र सञ्चालन हुनेछ । यसअघि असोज १५ गतेदेखि सुरु हुने गरी महाधिवेशन आयोजनको कार्यतालिका सार्वजनिक गरिएको भएपनि पछि १८ गतेदेखिको कार्यतालिका सार्वजनिक गरिएको थियो ।
सार्वजनिक भएको कार्यतालिकाअनुसार असोज २१ र २२ गते केन्द्रीय कार्यसमितिका लागि मतदान हुनेछ । मतदानका लागि काठमाडौंका ७ स्थानमा केन्द्र तोकिएको छ ।
यसका लागि पार्टीले पर्चा पम्प्लेट नटाँस्न र प्रविधिको बढीभन्दा बढी प्रयोग गरी वातावरणमैत्री तरिकाले प्रचारप्रसार गर्न निर्देशन दिएको छ । यस आधारमा भन्ने हो भने यो महाधिवेशनमार्फत कांग्रेस औपचारिकरुपमा डिजिटल युगमा प्रवेश गरेको मान्न सकिन्छ ।
यस्तै महाधिवेशन स्थलम ३० भन्दा बढी स्वास्थ्यकर्मी सम्मिलित हेल्प डेस्क, दुईवटा एम्बुलेन्स र नजिकका अस्पतालहरूसँग आपतकालीन समन्वयको व्यवस्था मिलाइएको छ ।
पार्टीका केन्द्रीय सदस्य डा केदारनरिंसंह केसीको सयोजकत्वमा गठित स्वास्थ्य समितिले यो महत्वपूर्ण जिम्मेबारी प्राप्त गरेको छ । यसैगरी कांग्रेसले महाधिवेशनलाई सफल बनाउन यस्तै अन्य थुप्रै समिति गठन गरेको छ ।
महाधिवेशनका मुख्य चुनौती
यो महाधिवेशन उत्सवमात्र नभई पार्टीका अगाडि उभिएका जटिल प्रश्नहरूको समाधान खोज्ने अवसर पनि हो । यहाँ बुँदागतरुपमा केही पक्षबारे स्पष्ट पार्ने प्रयत्न गरिएको छ :
पुस्तान्तरण र रूपान्तरणः पुराना र अनुभवी नेताहरू एवं युवा नेतृत्वबीचको सन्तुलन कायम गर्दै पार्टीलाई युवा पुस्ता (जेनजी लगायत) को सोच र अपेक्षासँग जोड्नु मुख्य चुनौती हो । त्यसो त जेनजी पुस्ताका २१ जनालाई केन्द्रीय समितिमा पुर्याउने अपेक्षा गरिएको छ । यो सँगै पार्टीलाई युवाको पक्षमा रुपान्तरणको प्रयास गर्ने लक्ष्य राखिएको छ ।
गुटबन्दीको अन्त्य र आन्तरिक एकताः यद्यपि देउवाको नेतृत्वमा इतर पक्ष अस्तित्वमा रहेको मानिए पनि भविष्यमा कुनै पनि प्रकारको गुटलाई निरुत्साहति गर्ने उद्देश्य राखिएको छ । विगतका निर्वाचन र आन्तरिक प्रतिस्पर्धाका क्रममा मौलाएको गुटबन्दीलाई नियन्त्रण गरी पार्टीलाई एकीकृत र अनुशासित बनाउनु आवश्यक छ ।
विचार र नीतिको स्पष्टताः बीपी कोइरालाको ‘लोकतान्त्रिक समाजवाद’ र समकालीन ‘सामाजिक लोकतन्त्र’ वा बजार अर्थतन्त्रबीच कसरी समन्वय गर्ने भन्ने वैचारिक द्विविधाको निरूपण गर्नु आवश्यक छ । आजको युवा पुस्तालाई लोकतन्त्र र समाजवादका बारेमा पनि बुझाउनु आवश्यक छ । यो महाधिवेशनले त्यस दिशामा आवश्यक रणनीति तय गर्ने अपेक्षा गर्नु गलत ठहर्दैन ।
जनविश्वासको पुनर्जागरणः पार्टीका केन्द्रीय सदस्य युवा नेता नयनसिंह महरका अनुसार विगतको संसदीय निर्वाचनमा कांग्रेसले औसतरुपमा ३० लाख मत प्राप्त गर्ने गरेकोमा गएको फागुनको संसदीय निर्वाचनामा करिब ११ लाख मत न्यून भएको थियो । यसको अर्थ हो पार्टीप्रतिको विश्वास र जनाधारमा कमी आएको छ र त्या फर्काउनुपर्छ ।
महरका अनुसार त्यस दिशामा यो महाधिवेशन महत्वपूर्ण ठहरिनेछ । सुशासन, भ्रष्टाचार नियन्त्रण र रोजगारी सिर्जनाजस्ता जनसरोकारका मुद्दामा स्पष्ट अडान राखेर आम नागरिकको गुम्दै गएको विश्वास पुनः जित्नुपर्ने चुनौती छ र महाधिवेशनले यस दिशामा आवश्यक रणनीति तय गर्ने कुरा केन्द्री सदस्य वरालले बताए ।
महाधिवेशनका सम्भावित परिणाम र सन्देश
१५ औं महाधिवेशनबाट आउने परिणामले केवल कांग्रेसको आन्तरिक जीवनमा मात्र नभई देशको समग्र राजनीतिमा दूरगामी प्रभाव पनि पार्ने अपेक्षा गरिनु असान्दर्भिक हुदैन ।
मुलुकको फरक राजनीतिक परिवेशको उपस्थिति, कांग्रेसको पक्षमा खस्किएको जनमत, जेनजी आन्दोलनको पृष्ठभूमि, संसदीय निर्वाचनमार्फत नयाँ राजनीतिक शक्तिलाई करिव दुई तिहाईको जनविश्वासजस्ता विद्यमान सत्यको उपस्थितिमा सम्पन्न हुन लागेको यो महधिवेशनबाट अपेक्षा गरिएको सबैभन्दा महत्वपूर्ण कुरा के हो भने यसले देशमा लोकतन्त्रको ‘च्याम्पियन’ मानिने पार्टीले लोकतन्त्रको संरक्षण र सम्बर्द्धनका सन्दर्भमा कस्तो रणनीति तय गर्छ ।
अहिले राष्ट्रियदेखि अन्तर्राष्ट्रिय स्तरसम्म प्रतिक्षाको विषय यही हो ।
नेपाली कांग्रेसको १५ औं महाधिवेशन केवल नयाँ नेतृत्व चयन गर्ने निर्वाचन प्रक्रियामात्र होइन, यो पार्टीको ऐतिहासिक विरासतलाई जोगाउँदै रूपान्तरणको बाटोमा अघि बढ्ने एउटा महत्त्वपूर्ण मोड पनि हो ।
खुलामञ्चबाट सुरु भएको यो लोकतान्त्रिक अभ्यासले पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई बलियो बनाउँदै देशलाई सुशासन, समृद्धि र राजनीतिक स्थिरताको दिशामा अघि बढाउने प्रेरणा दिन सकोस् भन्ने नै आम कार्यकर्ता र शुभेच्छुकहरूको चाहना रहेको छ ।