प्रधानमन्त्री वालेन्द्र शाह-बालेनको भारत भ्रमणबारे गृहकार्य भइरहेको तर मिति तय नभइसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
आज शुक्रबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले गृहकार्य भइरहेको जानकारी दिए। नेपाल र भारत दुवै पक्षको अनुकूल समयमा भ्रमण हुने प्रवक्ता क्षेत्रीको भनाइ छ।
‘दुवै पक्षलाई अनुकूल हुने समयमा प्रधानमन्त्रीज्यूको भ्रमण हुने नै छ,’ उनले भने, ‘उच्चस्तरीय भ्रमणको तयारी परराष्ट्र मन्त्रालयबाट भइरहेकै हुन्छ। भ्रमणको मिति तय भइरहेको छैन।’
यसअघि नै परराष्ट्र मन्त्रालयले भ्रमणका क्रममा दुई देशबीचका आपसी हित र सहकार्यका विभिन्न विषयमा छलफल हुने गरी एजेन्डा तय गरिरहेको जनाएको छ।
परराष्ट्र मन्त्रालयले अन्य उच्चस्तरीय भ्रमणको तयारी र एजेन्डामाथि काम गरिरहेको समेत उनले जानकारी दिए।
