नेपाली टोली आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको अंक तालिकामा पाँचौँ स्थानमा उक्लने सम्भावना सकिएको छ ।
आईसीसी लिग–२ : ओमनविरुद्ध नेपालको ११३ रनले जित
लिग–२ प्रतियोगिताअन्तर्गत खेलमा नामिबियाले अमेरिकालाई ६ विकेटले हराएसँगै नेपालको पाँचौँ स्थानमा उक्लने सम्भावना सकिएको हो ।
अब नेपालले छैटौँ स्थानमा रहेर लिग–२ प्रतियोगिता टुंग्याउन आफ्नो ध्यान केन्द्रित गर्नुपर्नेछ । जारी लिग–२ प्रतियोगितामा नेपालले अब दुई खेल खेल्न बाँकी छ ।
नेपालले आफ्नो ३५औँ खेल आगामी शनिबार क्यानडासँग खेल्नेछ । जारी लिग–२ प्रतियोगितामा नेपालले आफ्नो अन्तिम खेल आगामी सोमबार ओमानसँग खेल्नेछ ।
नेपालले अब बाँकी दुईमध्ये एक खेलमात्र जिते पनि तालिकाको छैटौँ स्थानमा रहेर जारी लिग–२ प्रतियोगिता टुंग्याउने छ ।
३६ खेलबाट ४९ अंक जोडेको अमेरिका, समान खेलबाट ४५ अंक बटुलेको स्कटल्यान्ड र ३२ खेलबाट ३८ अंक जोडेको नेदरल्यान्ड्स आगामी विश्वकपको अन्तिम चरणको छनोटमा पुगिसकेका छन् ।
३० खेलबाट ३३ अंक हात पारेको ओमान तालिकाको चौथो स्थानमा छ । ३६ खेलबाट ३३ अंक जोडेको नामिबिया पाँचौँ स्थानमा आसिन छ ।
ओमान र नामिबियामध्ये अब एक टोलीले सिधै एकदिवसीय विश्वकपको अन्तिम चरणको छनोटमा स्थान बनाउने छन् । तर, नामिबियाको तुलनामा ओमानको अवस्था निकै बलियो छ ।
३४ खेलबाट २८ अंक जोडेको नेपाल छैटौँ, समान खेलबाट २५ अंक हात पारेको क्यानडा सातौँ र ३२ खेलबाट १९ अंक बटुलेको संयुक्त अबर इमिरेट्स (यूएई) आठौँ स्थानमा छन् ।
जारी लिग–२ तालिकाको माथिल्लो चार स्थानमा रहने टोली सिधै विश्वकपको अन्तिम चरणको छनोटमा पुग्ने प्रावधान छ । बाँकी चार टोलीले भने प्ले–अफ खेल्नुपर्नेछ ।
नेपाल, क्यानडा र यूएईले प्ले–अफ खेल्ने पक्का भइसकेको छ । सम्भवतस् चौथो टोलीको रुपमा नामिबियाले पनि प्ले–अफ खेल्नेछ ।
लिग–२ बाट प्ले–अफ चरणमा पुगेका चार टोलीले च्यालेन्ज लिगबाट आउने थप चार टोलीसँग विश्वकपको अन्तिम चरणको छनोटमा स्थान बनाउन भिडन्त गर्नेछन् ।
त्यसपछि, प्ले–अफ तालिकाको माथिल्लो चार स्थानमा रहने टोलीले विश्वकपको अन्तिम चरणको छनोटमा स्थान बनाउने छन् ।
च्यालेन्ज लिगबाट इटाली र युगान्डा प्ले–अफमा पुगिसकेका छन् । अब जर्सी, कुवेत, पपुवा न्यू गिनी ९पीएनजी० र डेनमार्कमध्ये दुई टोली प्ले–अफ चरणमा पुग्नेछन् ।
बुधबार विहान सम्पन्न खेलमा पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर दुई सय ७७ रन बनाएको थियो ।
जवाफी ब्याटिङमा ओर्लिएको नामिबियाले भने ४८.३ ओभरमै केवल चार विकेट गुमाएर विजयलक्ष्य पूरा गरेको थियो ।
