हाइपरसोनिक ओरेस्निक मिसाइल सेवामा प्रवेश गरेको पुटिनको घोषणा

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले आफ्नो नवीनतम हाइपरसोनिक मिसाइलको उत्पादन सुरु गरेको बताएका छन् । उनले शुक्रबार यसलाई सहयोगी राष्ट्र बेलारुसमा यस वर्षको अन्त्यसम्म तैनाथ गर्ने योजना रहेको पुष्टि गरेका हुन् ।

‘तयारी कार्य चलिरहेको छ । सम्भवतः यो वर्षको अन्त्यसम्ममा हामीले यो पूरा गर्नेछौँ । ओरेस्निक मिसाइल र तिनका प्रणालीहरूको पहिलो श्रृंखला उत्पादन भई सैन्य सेवामा प्रवेश गरिसकेको छ’, पुटिनले भने ।

सेन्ट पिटर्सबर्ग नजिकैको भालाम टापुमा बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोसँगै बसेर सेनाले बेलारुसमा ओरेस्निक मध्य–दूरीको ब्यालिस्टिक मिसाइल तैनाथ गर्न स्थानहरू छनोट गरिसकेको पुटिनले जनाएका छन् ।

रुसले पहिलोपटक नोभेम्बरमा युक्रेनविरुद्ध ओरेस्निक प्रयोग गरेको थियो । यो प्रयोगात्मक हतियार ड्निप्रोमा रहेको एक कारखानामा प्रहार गरिएको थियो । उक्त कारखाना जुन युक्रेन सोभियत संघको हिस्सा हुँदा मिसाइल बनाउने स्थान (कारखाना) थियो ।