प्लास्टिकको झोला ब्याण्ड गर्ने तयारीमा ललितपुर महानगरपालिका

ललितपुर महानगरपालिकामा जुटबाट बनेका सामग्रीहरुको प्रवद्धन गर्ने हिसाबले कोशा पसलको उद्घाटन भएको छ ।
बुधबार उक्त पसलको उद्घाटन ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरिबाबु महर्जनले गर्नुभएको हो । सोही क्रममा उहाँले ललितपुर महानगरपालिकामा प्लास्टिकको झोला ब्याण्ड गर्न लागेको जानकारी गराउदैँ त्यसको सट्टामा कपडाको झोला वितरण गर्ने बताउनुभयो ।

उहाँले ललितपुर महानगरपालिकाभित्र ७७ हजार घर भएको भन्दै प्रत्येक घरमा एउटा झोला वितरण गर्ने पनि उल्लेख गर्नुभयो ।
‘ललितपुर महानगरपालिकामा हामीले प्लास्टिकको झोला ब्याण्ड गर्दै छौँ, त्यसको लागि हामीले टेण्डर निकालेर लोकल्ली मेटेरियल प्रयोग गरेर कपडाको झोला बनाइ सकेका छौँ । महानगरपालिकाभित्र ७७ हजार घरहरु छन् त्यो प्रत्येक घरलाई हामी एउटा एउटा झोला वितरण गर्न लागेका छौँ ।’ मेयर महर्जनले भन्नुभयो ।

उहाँले तिसको दसकमा नेपालबाट निर्यात हुनेमा जुट इन्डस्ट्री निकै राम्रो रहेको भन्दै जुटबाट बनेका सामग्रीलाई प्रवद्र्धन गर्न कोशा गु्रपसँग सहकार्य गर्ने तयार गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘तिसको दसकमा नेपालबाट निर्यात हुनेमा जुट इन्डस्ट्री निकै राम्रो भएको थियो । जुट अहिले नयाँ नयाँ आयाम थप्न सफल भएको छ । यो कार्यलाई अगाडी बढाउनका लागि ललितपुर महानगरपालिका एउटा हस्तकला नगरी हो । यसको निमित्त हामी उहाँहरुसँग कुन क्षेत्रमा कसरी काम गर्न सकिन्छ हामी तयार छौँ । उहाँहरुसँग काम गर्नको निमित्त हामी तयार छौँ ।’

त्यस्तै आर .के गोल्छा गु्रपका प्रबन्धक निर्देशक राजकुमार गुल्छाले आफ्नो हजुरबुबाले नेपालमा आएर पहिलो विजनेश नै जुटको गरेको हुनाले आफुले पनि यसैलाई प्रथामिकता दिएको बताउनुभयो । उहाँले एउटै छानामुनि ५ सयभन्दा धेरै कामदारले काम गरिरहेको समेत बताउनुभयो ।

उहाँले भन्नुभयो ‘मेरो हजुरबुबाले नेपालमा आएर गरेको पहिलो विजनेश नै जुट हो । अहिले हामीले विभिन्न ह्याण्डिक्रप्ट हरुका सामान देखि अन्या सामग्री बनाई रहेका छौँ । एउटै छानामुनि आज ५ सयभन्दा धेरै काम गर्ने गरेका छन् । यसमा विराटनगर देखि नै काम भइरहेको छ ।’