२० जना युवाको मृत्युपछि सुरु भएको आन्दोलन दोस्रो दिन पनि उग्र रूपले जारी छ । आज बिहान प्रदर्शनकारीहरूले खुमलटारस्थित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासतर्फ जाने सडकमा रहेको प्रहरी बिट भत्काएका छन् ।
आन्दोलनकारीहरूले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । काठमाडौंको कलंकी क्षेत्रमा युवाहरूले सडकमा टायर बालेर विरोध जनाएका छन् भने नयाँ बानेश्वरस्थित संसद भवन अगाडि पनि सरकारविरुद्ध चर्का नाराबाजी भइरहेका छन् ।
प्रदर्शन उग्रिँदै गएपछि काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ । यद्यपि अहिलेको अवस्था भने सुरक्षाकर्मीहरूको नियन्त्रणमै रहेको प्रशासनको दाबी छ ।
सुरक्षा जोखिम बढ्दै गएपछि उपत्यकामा थप भिडन्त र हिंसात्मक घटनाको आशंका समेत गरिएको छ ।