यस वर्षको तापक्रम र वर्षा अहिलेसम्मकै बढी हुने सम्भावना देखिएको छ । दक्षिण एसियाली मौसमी पूर्वानुमान मञ्च (सास्कोफ) को बैठकले यो प्रक्षेपण सार्वजनिक गरेको बीबीसीले जनाएको छ ।
भारतको पुणेमा गत महिना अप्रिल २८ देखि ३० सम्म सास्कोफको ३१औं बैठक भएको थियो । सास्कोफमा दक्षिण एसियाका नौ देश (नेपाल, भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, भुटान, माल्दिभ्स, अफगानिस्तान, म्यानमार) का मौसमविद्हरू र अन्तर्राष्ट्रिय विज्ञहरू सहभागी थिए ।
सो बैठकमा विश्व मौसम संगठन, भारत मौसम विभाग र अन्य क्षेत्रीय तथा विश्वव्यापी मौसम निकायहरूका विज्ञहरू समेतले २०२५ को मनसुनबारे सामूहिक पूर्वानुमान तयार गरेका हुन् ।
सास्कोफको क्षेत्रीय मौसम पूर्वानुमानलाई समेत आधार मानेर नेपालको जल तथा मौसम विज्ञान विभागले राष्ट्रियस्तरमा मनसुन प्रक्षेपण सार्वजनिक गर्दछ । सास्कोफले गरेको प्रक्षेपण नेपालको सन्दर्भमा मिल्ने गरेको छ ।
सास्कोफले तयार पारेको नक्सामा पूर्वमा औसत, मध्य नेपालमा औसतभन्दा केही धेरै र सुदूरपश्चिममा औसतभन्दा धेरै वर्षा हुने देखिन्छ । त्यसैले ती क्षेत्रलाई नीलो र गाढा नीले रंगले संकेत गरिएको छ ।
जुनदेखि सेप्टेम्बर महिनासम्मको अवधिलाई मनसुनको अवधि मानिन्छ । सामान्यतया नेपालमा जुन १३ तारिखदेखि मनसुन सुरु भएर अक्टुबर २ तारिखमा बाहिरिन्छ । यो अवधिमा नेपालमा वर्षभरी हुने वर्षाको ७० देखि ८० प्रतिशतसम्म वर्षा हुने गर्दछ ।
यस वर्ष नेपालसहित दक्षिण एसियामा सरदरभन्दा बढी वर्षा, न्यूनतम तापक्रम र अधिकतम तापक्रम पनि सरदरभन्दा बढी हुने सम्भावना रहेको सास्कोफले जनाएको छ । यस वर्षको मनसुनमा पनि नेपालमा बाढी, पहिरो, डुबान र कटान जस्ता प्राकृतिक प्रकोपको जोखिम बढ्ने जोखिम भएकाले पूर्वतयारीका काम थाल्न सास्कोफले सल्लाह समेत दिएको छ ।
यस वर्षको मनसुन अवधिमा सामान्यभन्दा बढी वर्षाको सम्भावना देखिएकाले यसले सिंचाइका लागि फाइदा पु¥याउन सक्ने भए पनि, बाढी, पहिरो तथा डुबानजस्ता प्राकृतिक प्रकोपको जोखिम समेत बढ्न सक्ने छ ।
‘विशेषगरी पहाडी तथा हिमाली जिल्लाहरूमा तीव्र वर्षाले पहिरो जाने, सडकहरू अवरुद्ध हुने र मानवीय क्षति निम्त्याउने जोखिम उच्च हुन्छ । तराई मधेशका क्षेत्रहरूमा नदीहरूमा बहाव बढेर डुबान र कटानको अवस्था सिर्जना हुन सक्छ,’ त्यसैले त्यस्ता प्राकृतिक प्रकोपबाट जोगिन पूर्वतयारी आवश्यक छ’विज्ञको सुझाब छ ।
विज्ञहरुका अनुसार वर्षा र तापक्रमको असमान वितरणले पानीको स्रोत, कृषियोग्य जमिन, बाली चक्र, तथा मानव स्वास्थ्यमा असर पर्छ । यस्तो अवस्थामा बाढी पूर्वानुमान प्रणाली, विपद् व्यवस्थापन योजना, बालीको विविधीकरण र मौसमअनुकूल बीउ तथा प्रविधिको प्रयोगमार्फत स्थानीय स्तरमा तयारी आवश्यक भएको उनीहरु सुझाव दिन्छन् ।