कर्फ्यू खुकुलो, राजधानीमा बिहानै भीडभाड

कर्फ्यू आंशिक खुकुलो भएपछि बिहीबार बिहान ६ बजेदेखि राजधानीमा सर्वसाधारणको चहलपहल बढेको छ।

नेपाली सेनाले बुधबार राति नै निषेधाज्ञा र कर्फ्यू आंशिक रूपमा हटाउने निर्णय गरेको थियो। त्यसअनुसार बिहानैदेखि मानिसहरू अत्यावश्यक सामग्री किन्न बजारतिर निस्किएका छन्।

राजधानीका विभिन्न क्षेत्रमा बिगमार्टसहितका किराना स्टोरहरू खुलेका छन्। खाद्यान्न, तरकारी र अन्य दैनिक उपभोग्य वस्तु किन्नेको भीड देखिएको छ भने औषधि पसलहरूमा समेत लामबद्ध लाइन लागेको छ।

त्यसैगरी पेट्रोलियम पदार्थ लिन सर्वसाधारण सेनाको रिपुमर्दिनी पेट्रोल स्टेशन, भद्रकालीमा पुगेका छन्। हिजो खुलाइएको यो पम्प आज दिनभर सञ्चालनमा रहने सेनाले जनाएको छ।

कर्फ्यू खुकुलो बनेसँगै राजधानीमा सामान्य जीवनक्रम केही हदसम्म सहज देखिएको भए पनि सुरक्षाकर्मीहरूको कडाइ यथावत छ।