‘आमा गुमाए पनि नेपाल आमाका लागि खेल्छु’ : ललित राजबंशी

  • Clock icon
    २०८२ आश्विन ३, शुक्रबार

नेपाली राष्ट्रिय क्रिकेट टोलीका बलर ललित राजबंशीले आमाको सम्झनामा भावुक हुँदै आफ्नो क्रिकेट यात्राबारे मनको पीडा सार्वजनिक गरेका छन्। हालै आमाको निधनपछि पहिलो पटक सञ्चारमाध्यमसँग कुरा गर्दै उनले व्यक्तिगत दुःखलाई देशप्रति कर्तव्यभन्दा माथि राख्न नसक्ने बताएका छन्।

राजबंशीले भने, “मामुको धेरै याद आउँछ, मेरो आधा संसार गयो। मेरो बाकी संसार भनेको बच्चादेखिको सपना—देशका लागि क्रिकेटर बन्ने र क्रिकेट खेल्ने हो। अब त्यो कुराले यता प्रभाव पर्नु भएन। त्यो बेला आमा महत्वपूर्ण हुनुहुन्थ्यो, म आफैंले अष्ट्रेलिया टुर छोडे।”

आमाको निधनको बेला अष्ट्रेलिया भ्रमण छोडेर घर फर्किएका उनले अहिले फेरि खेलमै ध्यान केन्द्रित गरिरहेका छन्। “अब खेल महत्वपूर्ण छ। आमा जस्तै नेपाल आमा हो, एक दायित्व छ, यसैलाई पूरा गर्न यता लागेको छु,” उनले भावुक हुँदै भने।

राजबंशीको भनाइले देश र खेलप्रति उनको गहिरो समर्पण झल्काएको छ। आमा गुमाउँदा पनि राष्ट्रिय जिम्मेवारीलाई पहिलो प्राथमिकता दिने उनको यो अठोटले नेपाली क्रिकेटमा उनको प्रतिबद्धता पुनः पुष्टि गरेको छ।

  • Clock icon
    २०८२ आश्विन ३, शुक्रबार