विराटनगर किंग्सलाई पराजित गर्दै लुम्बिनी लायन्स पहिलो पटक सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा पुग्न सफल भएको छ।
आज बिहीबार भएको दोस्रो क्वालिफायरमा विराटनगरलाई ४० रनले हराउँदै लुम्बिनीले सुदूरपश्चिम रोयल्ससँगको भेट पक्का गरेको हो।
सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगरलाई ७७ रनले हराउँदै लगातार दोस्रो पटक उपाधि नजिक पुगेको थियो। एनपीएलको उपाधि भिडन्त शनिबार हुनेछ।
लगातार दुई क्वालिफायर खेल्दा पनि पराजित भएपछि विराटनगर उपाधि दौडबाट बाहिरिएको हो। लिग चरणमा उत्कृष्ट प्रदर्शन गरेको विराटनगरले क्वालिफायरमा आएर सोही लयलाई निरन्तरता दिन नसक्नु नै हारको मुख्य कारण बन्न पुग्यो।
यता लुम्बिनीले भने एलिमिनेटर खेलमा काठमाडौँ गोर्खाजलाई चार विकेटले पराजित गर्दै दोस्रो क्वालिफायर खेलेको हो। पहिलो सिजन अंक तालिकाको पुछारमा रहेर एनपीएल सकाएको लुम्बिनीले दोस्रो सिजनमा भने उपाधि भिडन्त पक्का गरेको छ।
लुम्बिनीले दिएको एक सय ३५ रनको सामान्य लक्ष्य पछ्याएको विराटनगर १७।५ ओभरमा ९४ रन बनाउँदा अलआउट हुन पुग्यो। लुम्बिनीका लागि साम हेजलेटले ३४ र मार्चेन्ट डे लाङगेले १७ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकको स्कोर छुन सकेनन्।
लुम्बिनीविरुद्ध पावर प्लेमा नै तीन विकेट गुमाएर २८ रन बनाएपछि विराटनगर दबाबमा आएको थियो।
सुरुवातबाट नै दबाबमा राखेको लुम्बिनीले पहिलो ओभरको पाचौँ बलमा ओपनर मार्टिन गप्टिललाई दुई र अन्तिम बलमा लोकेश बम शून्यमा पेभेलियनको बाटो देखाएको थियो। दोस्रो ओभरको तेस्रो बलमा फाफ डु प्लेसिस तीन रन बनाउँदा शेर मल्लको बलमा बोल्ड आउट भए।
