फागुन २१ निर्वाचन:राष्ट्रपति कार्यालयमा प्रधानमन्त्री कार्की र देउवा, ओली तथा प्रचण्डबीच छलफल

प्रधानमन्त्री सुशीला कार्की र ३ ठूला दलका शीर्ष नेताबीचको संवादहिनता तोडिएको छ।

राष्ट्रपतिको पहल : प्रधानमन्त्री कार्की र देउवा, ओली तथा प्रचण्ड छलफलमा

राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री कार्की, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच राष्ट्रपति कार्यालय शीतल निवासमा छलफल सुरु भएको हो।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबाट प्रधानमन्त्री बनेकी कार्कीले अहिलेसम्म देउवा, ओली र प्रचण्डसँग भेट गरेकी थिइनन्।

यद्यपि, उनले तीन ठूला दलका दोस्रो र तेस्रो तहका नेताहरुसँग भने संवाद गर्दै आएकी छिन्।

कार्कीले शीर्ष नेताहरुसँग भेट्न अनिच्छा देखाएपछि राजनीतिक दलका नेताहरुले त्यसको आलोचना गर्दै आएका थिए।

संवादहिनता बाँकी रहँदा सरकारले फागुन २१ गते गराउने भनेको प्रतिनिधि सभाको चुनाव हुन नसक्दै भन्दै आलोचाना बढेपछि कार्की भेटका लागि तयार भएकी हुन्।

कार्की र ३ नेताबीचको भेटघाटको पहल भने राष्ट्रपति पौडेलले लिएका हुन्। यसअघि राष्ट्रपतिकै रोहवरमा सरकार र राजनीतिक दलबीच संवादको सुरुवात भएको थियो।