नारायणीमा ‘राइनो क्रुज’, पर्यटनको नयाँ आकर्षण

नेपालमै पहिलो पटक ‘राइनो क्रुज’ सञ्चालनमा आउन लागेको छ। नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) को गैंडाकोटस्थित नारायणी नदीबाट सुरु हुने यो क्रुजले नवलपुर र आसपासका क्षेत्रलाई दिगो तथा सम्भावनायुक्त नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य लिएको छ।

नारायणी नदीमा सञ्चालन हुने राइनो क्रुजलाई राइनो वाटर इन्टरटेनमेन्ट प्रा.लि. र होटल रिभर क्राउन प्रा.लि. ले संयुक्त रूपमा सञ्चालन गर्न लागेका हुन्। कम्पनीका प्रबन्ध निर्देशक दीपक ढुंगेलका अनुसार यो क्रुज यातायातका लागि नभई पूर्ण रूपमा पर्यटन प्रवर्द्धनलाई केन्द्रमा राखेर सञ्चालन गरिनेछ।

ढुंगेलले गैंडाकोट पुलचोकदेखि देवघाटसम्म सञ्चालन गर्ने योजना रहेको जानकारी दिँदै विशेष रूपमा डिनर क्रुजलाई प्राथमिकता दिइएको बताए। “हामी क्रुजलाई यात्रु ओसारपसारका लागि होइन, पर्यटन प्रवर्द्धनका लागि सञ्चालन गर्दैछौं। इन–क्रुज डाइनिङ प्याकेजसहितको डिनर क्रुज हाम्रो मुख्य आकर्षण हुनेछ,” उनले भने।

उनका अनुसार राइनो क्रुजलाई पुनःनिर्माण गरी सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ। आवश्यक प्राविधिक परीक्षण सम्पन्न भइसकेको र नियमित सञ्चालनका लागि थप तयारी भइरहेको ढुंगेलले बताए। सबै तयारी पूरा भएपछि यही महिनाभित्र क्रुज सेवा औपचारिक रूपमा सुरु गर्ने योजना रहेको छ।

नारायणी नदीको प्राकृतिक सौन्दर्य, धार्मिक तथा सांस्कृतिक महत्व बोकेको देवघाट क्षेत्र र गैंडाकोट आसपासको पर्यटकीय सम्भावनालाई एकैसाथ जोड्ने राइनो क्रुजले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ। यस क्रुजको सञ्चालनसँगै नवलपुर क्षेत्रको पर्यटन, स्थानीय अर्थतन्त्र र रोजगारीका अवसरमा सकारात्मक प्रभाव पर्ने विश्वास लिइएको छ।