हिजो सोमबार राति पाकिस्तानले अफगानिस्तानमा फेरि हवाई हमला गरेको छ।
स्थानीय सञ्चारमाध्यमका अनुसार पाकिस्तानी वायुसेनाको लडाकु विमानले राजधानी काबुलका धेरै क्षेत्रमा आक्रमण गरेको हो। जसमा ४०० जनाको मृत्यु भएको छ भने २५० भन्दा बढी घाइते भएका छन्।
रिपोर्टका अनुसार, दारुल अमान, अर्जन किमात, खैरखाना र काबुल अन्तर्राष्ट्रिय विमानस्थल वरपरका धेरै स्थानहरूमा विस्फोट र गोलीबारी सुनिएको थियो।
तालिबान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले पाकिस्तानी सेनाले काबुलको लागुऔषध पुनर्स्थापना अस्पतालमा बमबारी गरेको आरोप लगाए।
तालिबानले आक्रमणको कडा निन्दा गर्दै यसलाई मानवताविरुद्धको अपराध भनेको छ र पाकिस्तानले अफगान हवाई क्षेत्र उल्लङ्घन गरेको दाबी गरेको छ।
पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफका प्रवक्ता मोशरफ जैदीले आरोपलाई निराधार भन्दै काबुलको कुनै पनि अस्पतालमा आक्रमण नगरिएको दाबी गरेको बीबीसीले जनाएको छ ।
पाकिस्तानको सूचना मन्त्रालयले काबुल र नान्गारहारमा रहेका सैन्य अड्डा, प्राविधिक उपकरण डिपो र हतियार भण्डारलाई निसाना बनाइएको बताएको छ, जुन पाकिस्तानी नागरिकहरूविरुद्ध आक्रमणका लागि प्रयोग भइरहेका थिए।