ओली टिचिङ अस्पतालको ५०१ नम्बर बेडमा भर्ना

एमाले अध्यक्ष एंव पूर्व प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल) भर्ना भएका छन् । उनलाई ‘एनेक्स वान’को ५०१ नम्बर बेडमा भर्ना गरिएको हो ।

आज बिहान पक्राउ परेपछि स्वास्थ्य परीक्षण गर्न उनलाई अस्पताल लगिएको थियो ।

उनलाई सुरुमा अस्पतालको ‘रेड एरिया’को २७ नम्बर बेडमा राखिएको थियो । त्यहाँ उनलाई नेफ्रोलोजी टिमका डाक्टर रविन नेपालीसहितको टोलीले स्वास्थ्य जाँच गरेको थियो । मुटु सम्बन्धी डाक्टरले पनि उनको जाँच गरेका थिए । ‘रगत जाँच, भिडियो एक्सरे लगायतका परीक्षण गरिएपछि ओलीलाई एनेक्स वानको ५०१ नम्बर बेडमा भर्ना गरिएको छ,’ अस्पताल स्रोतले बतायो ।

५०१ नम्बर बेड भएको भवनमा लैजाँदा ओलीलाई उनकै गाडी चढाएर लगिएको थियो ।

टिचिङको ५०१ नम्बर बेड मिर्गौला प्रत्यारोण गरेका बिरामीलाई राख्ने बेड हो । ओली मिर्गौला प्रत्यारोपणका बिरामी हुन् । उनको दुईपटकसम्म मिर्गौला प्रत्यारोपण भएको छ ।

जेनजी आन्दोलनमा दमन गरेको आरोपमा फौजदारी कसुरमा कारबाही सिफारिस भएपछि प्रहरीले पूर्वप्रधानमन्त्री ओलीलाई आज बिहान गुण्डु निवासबाट पक्राउ गरेको थियो । तत्कालीन गृहमन्त्री रमेश लेखक पनि आजै पक्राउ परेका छन् ।

आज शनिबारको दिन सार्वजनिक बिदा भएकाले उनीहरुलाई आइतबार मात्रै अदालत पेस गर्ने तयारी छ ।

चावहिलमा प्रदर्शन