काठमाडौँ । फारसको खाडी क्षेत्रमा इरान र अमेरिका–इजरायल गठबन्धनबीच युद्ध चलिरहँदा त्यहाँ रहेका नेपालीहरूको संख्या र अवस्थाबारे चासो बढेको छ । करिब ८० लाख नेपाली त्यहाँ रहेको भनिए पनि आधिकारिक तथ्यांकले रोजगारीका लागि त्यति ठूलो संख्या नभए पनि उल्लेखनीय उपस्थिती रहेको देखाउँछ ।
पछिल्ला तीन आर्थिक वर्षको विवरण अनुसार नेपालबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेमध्ये दुई तिहाइभन्दा बढी नेपालीले खाडी क्षेत्रका पाँच देश रोजेका छन् । विशेषगरी गत आर्थिक वर्षमा यो दर अझै बढ्दै कुल श्रम स्वीकृतिमध्ये ७६ प्रतिशतभन्दा बढी खाडीका देशका लागि जारी भएको थियो ।
नेपालबाट श्रम स्वीकृति लिएका नागरिकहरू विश्वका १५० भन्दा बढी देशमा पुगे पनि सबैभन्दा बढी जाने शीर्ष १० देशमध्ये पाँच वटा खाडी क्षेत्रमै पर्छन् । तीमध्ये संयुक्त अरब इमिरेट्स (यूएई) पछिल्ला दुई वर्षदेखि नेपाली कामदारको प्रमुख गन्तव्य बनेको छ । यूएईका दुबई र अबुधाबी नेपालीहरूका लागि परिचित श्रम गन्तव्यका रूपमा स्थापित भइसकेका छन् ।
साउदी अरब र कतार पनि २०८० सालदेखि नै शीर्ष तीन गन्तव्यमा रहँदै आएका छन् । त्यसभन्दा अघिल्लो वर्षसम्म भने मलेसिया पहिलो र कतार दोस्रो स्थानमा रहेको सरकारी तथ्यांकले देखाउँछ ।
कुवेत र बहराइन जस्ता देशहरू पनि खाडी क्षेत्रका महत्वपूर्ण श्रम गन्तव्य हुन् । पछिल्ला वर्षहरूमा यी पाँच देशमा नेपालीको केन्द्रिकरण अझै बढेको देखिन्छ । तीन वर्षअघि कुल श्रम स्वीकृतिमध्ये ५४ प्रतिशतभन्दा कम हिस्सा ओगटेको खाडी क्षेत्रको हिस्सा २०८० मा ७० प्रतिशत नाघेको थियो भने २०८१/८२ मा ७६ प्रतिशतभन्दा बढी पुगेको छ ।
चालु आर्थिक वर्षमा पनि युद्ध सुरु हुनुअघिसम्म खाडी मुलुकतर्फ जाने क्रम उच्च नै रहेको थियो । पछिल्ला तीन वर्षमा कुल २३ लाख ५१ हजार ८९० जनालाई श्रम स्वीकृति दिइएकोमध्ये १५ लाख ७१ हजार ८०६ जना खाडीका पाँच देशतर्फ गएका छन्, जुन कुलको ६६.८३ प्रतिशत हो ।
महिला सहभागिताको दृष्टिले पनि खाडी क्षेत्र महत्वपूर्ण देखिएको छ । साउदी अरबमा नेपाली महिलाको संख्या न्यून भए पनि पछिल्ला तीन वर्षमा श्रम स्वीकृति लिएर विदेशिएका महिलामध्ये ६२ प्रतिशतभन्दा बढीले खाडी क्षेत्रकै देश रोजेका छन् ।
यसरी खाडी क्षेत्र नेपाली श्रमिकहरूको प्रमुख गन्तव्यका रूपमा निरन्तर मजबुत बन्दै गएको देखिन्छ, जसले वैदेशिक रोजगारीको ढाँचामा स्पष्ट केन्द्रिकरण देखाएको छ ।
