संघर्षबाट सफलताको यात्रा

काठमाडौँ । बाराका ३० वर्षीय रामाशंकर कुशवाहा ले पारिवारिक कठिनाइ, अध्ययन र पेशागत यात्राबीच निरन्तर संघर्ष गर्दै स्वास्थ्य क्षेत्रमा प्रेरणादायी उपलब्धि हासिल गरेका छन् ।

वि.सं. २०७० सालमा SLC उत्तीर्ण गरेपछि उनी उच्च शिक्षा अध्ययनका लागि काठमाडौँ आएका थिए । सोही समयमा आमाबुवाको स्वास्थ्य समस्याका कारण उनी लामो समय पारिवारिक चिन्ता र जिम्मेवारीसँगै अध्ययनमा जुट्न बाध्य भए । +२ मा विज्ञान विषय पढ्दै गर्दा उनी नियमित रूपमा अस्पताल धाउँदै आमाबुवाको उपचारमा समेत संलग्न थिए ।

डाक्टर बन्ने लक्ष्यसहित निरन्तर मेहनत गरेका कुशवाहाले छात्रवृत्तिमा नाम निकाल्दै हरेक वर्ष उत्कृष्ट नतिजा हासिल गर्दै आफ्नो अध्ययन पूरा गरे । त्यसपछि उनले CDS अध्ययन पूरा गरी ललितपुरमा क्लिनिक स्थापना गरेका थिए । उक्त क्लिनिकमार्फत विगत ५ वर्षदेखि १५ जनाले रोजगारी पाउँदै आएका छन् ।

पारिवारिक जिम्मेवारीसँगै व्यावसायिक जीवन अघि बढाइरहेका उनले गत वर्ष आमाबुवा दुवैलाई गुमाएका थिए । तर त्यसपछि पनि हिम्मत नहारी उनी निरन्तर अघि बढिरहेका छन् । हाल उनी IOM मा नाम निकालेर महाराजगञ्ज शिक्षण अस्पताल मा BDS अध्ययन गर्दै आफ्नो चिकित्सा शिक्षालाई थप अघि बढाइरहेका छन् ।

उनको यो यात्रा संघर्ष, समर्पण र दृढ इच्छाशक्तिको उदाहरणका रूपमा देखिएको छ ।