काठमाडौँ । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले आज (वैशाख २३ गते) देखि सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुला गरेको छ।
कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि पहिलो चरणमा शेयर बाँडफाँट सम्पन्न गरिसकेपछि दोस्रो चरणअन्तर्गत सर्वसाधारणका लागि आईपीओ जारी गरेको हो।
कुल १ अर्ब २० करोड रुपैयाँ जारी पुँजी रहेको कम्पनीले ३५.२६ प्रतिशत बराबरको ४२ करोड ३० लाख ६६ हजार ८०० रुपैयाँ मूल्य बराबरको शेयर निष्कासन गर्न अनुमति पाएको थियो। यसमध्ये १२ लाख कित्ता स्थानीय बासिन्दा, ३ लाख ३ हजार ६७ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली, १ लाख ५१ हजार ५३३ कित्ता सामूहिक लगानी कोष तथा ६० हजार ६१३ कित्ता कर्मचारीहरूका लागि छुट्याएर बाँडफाँट गरिसकिएको छ।
अब बाँकी रहेको २५ लाख १५ हजार ४५५ कित्ता शेयर सर्वसाधारणका लागि खुला गरिएको छ। इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।
यो आईपीओ छिटोमा वैशाख २८ गते बन्द हुनेछ। तर सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा निष्कासन अवधि जेठ ६ गतेसम्म लम्बिने जनाइएको छ।
लगानीकर्ताहरूले सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरूका साथै ‘मेरो शेयर’ प्रणालीमार्फत अनलाइन आवेदन दिन सक्नेछन्।
केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयरएनपी डबल बी प्लस’ रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको संकेत गर्दछ।
भोजपुर जिल्लामा अवस्थित ८ मेगावाट क्षमताको टक्सार पिखुवाखोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी कम्पनीले २०७८ वैशाख १ गतेदेखि नै व्यापारिक उत्पादन सुरु गरिसकेको छ।
यस कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।
